नेपाली समाजमा ‘फेसबुक विवाह’





फेसबुकमा पठाएको सन्देशको तीन महिनासम्म पनि जवाफ नआएपछि २८ वर्षीय कुमार आचार्यले बन्दनालाई ‘ब्लक’ गरे । दिनमा २३ वटासम्म म्यासेज पठाउँदा पनि युवतीले बेवास्ता गरेपछि निराश भएर कुमारले उनलाई ‘ब्लक’ गरेका थिए ।



त्यो अवधिमा बन्दनाले आफ्नो ‘स्टाटस’ अपडेट गरेकी थिइनन् र उनी कुमारप्रति आकर्षित छन् भन्ने संकेत पनि दिइनन् ।

तर पनि कुमारले हरेस खाइसकेका थिएनन् । उनले बन्दनालाई नयाँ फ्रेन्ड रिक्वेस्ट पठाए, अनायासै त्यो स्वीकृत भयो, सम्बन्ध पनि बढ्दै गयोे र अन्ततः दुवैले विवाह गरे ।

“मैले उसका सबै म्यासेज पढेकी थिएँ, तर कुनै जवाफ फर्काइन,” २४ वर्षीया बन्दना मुस्काउँदै भन्छिन्, “मैले उसको परीक्षा लिइरहेकी थिएँं ।”

कुमार र बन्दना जस्तै सामाजिक सञ्जालमा चिनापर्चीपछि विवाह गर्नेहरु काठमाडौंमा थुप्रै छन् । कुमारकी आमाले कैयौं केटीका प्रस्ताव ल्याए पनि उनले फेसबुकबाटै जीवनसंगिनी छनोट गरे ।

त्यसैले सामाजिक सञ्जाल अहिले नेपाली युवाका लागि नयाँ लमी बनेको छ । नेपालमा फेसबुक प्रयोगकर्ता ४० लाख पुगेसँगै यो सञ्जालकै माध्यमबाट अझै धेरै जोडी बन्नेमा शंका छैन ।

फेसबुकमा भौगोलिक दुरीको पनि खासै महत्व हुँदैन, संसारको एउटा कुनाका पुरुष वा महिला अर्को कुनाका पुरुष वा महिलासँग जोडी मिलाइरहेका हुन्छन् ।

यद्यपि, अपरिचितका ‘रिक्वेस्ट’ युवतीले सहजै स्वीकार नगर्ने हुँदा यस्तोमा परिवार र आफन्त सहयोगी भइदिन सक्छन् ।

“मेरो काकाको छोराको बन्दनासँग चिनजान थियो, त्यसैले पनि बन्दनासँग गाँसिन मलाई सजिलो भयो,” कुमार भन्छन् । फेसबुकबाट बनेको यो जोडीले परम्परा निर्वाह गर्ने क्रममा विवाहअघि ज्योतिषीको समेत सल्लाह लिए, परिवारको सहयोगमा विवाह गरे ।

कहिल्यै नभेटेकी शान्तिलाई सुरेश गुरुङले ‘भ्यालेन्टाइन डे’ मा प्रस्ताव गरे । २४ वर्षे सुरेशलाई भावी श्रीमती शान्तिको साथी बन्नमा उनकी बहिनीले सघाएकी थिइन् ।

फेसबुकमै रमाउने शान्तिलाई पट्याउन सुरेशलाई त्यति अप्ठ्यारो भने भएन । शान्ति सुरेशका सबै म्यासेजको जवाफ दिन्थिन् ।

“उसको प्रोफाइल हेरेपछि लाग्यो– मैले बिहे गर्ने केटी यही नै हो,” सुरेश भन्छन् । त्यसपछि उनले कहिल्यै नभेटेकी शान्तिलाई फेसबुकमै विवाहको प्रस्ताव गरेका थिए ।



सुरेश र शान्तिले आफ्नो प्रेमविवाह भएको बताए भने कुमार र बन्दनाले आफ्नो विवाह “अरेन्ज्ड” भन्छन्, तर वास्तवमा दुवै विवाह ‘फेसबुक विवाह’ हुन् ।

कुमार र बन्दनालाई भेट्दा एक–अर्काको हात अँठ्याएर मस्किंदै गरेको त्यो जोडी पहिल्यैदेखि गहिरो प्रेममा छ भन्ने प्रस्टै हुन्थ्योे ।

सामाजिक सञ्जालमा जोडी बनाउन सजिलो भए पनि फेसबुकले गर्दा कैयौं जोडी छुट्टिनु पनि परेको छ । बन्दनाले अचेल कुमारलाई फेसबुकमा समय बिताउन दिंदैनन् । “उसले अरु केटीसँग कुरा गरेको मलाई मन पर्दैन,” कुटिल मुस्कान छर्दै बन्दनाले भनिन् ।

यता सुरेशले भने आफ्नी पत्नीको फेसबुकमा चियोचर्चो गरिरहेका छन् । “उसको तस्वीरमा कसैले कमेन्ट गर्‍यो भने त्यसका बारेमा सोधखोज गर्छु,” सुरेशले हाँस्दै सुनाए ।

फेसबुक जस्ता समाजिक सञ्जालमा नक्कली ‘आइडी’ बनाएर अरुलाई सताउने पनि प्रशस्तै हुन्छन् । गत हप्तामात्रै प्रहरीले सिन्धुपाल्चोकका ३० वर्षीय रामकुमार स्याङवोलाई एक महिलाको उजुरीका आधारमा पक्राउ गरेको छ । स्याङबोले अश्लिल सन्देश र तस्वीर पठाउने गरेको साथै यौनसम्बन्धका लागि दबाब दिने गरेको महिलाको आरोप छ ।

प्रविधिको विकाससँगै नेपालको सामाजिक जीवनको एउटा पाटो अवास्तविक (भर्चुअल) संसारमा रमाउन थालेको छ । फेसबुकको खुट्याउन नसकिने वास्तविकता वास्तविक मानिसहरु भन्दा पनि बढी वास्तविक ठानिएको देखिन्छ ।

कुमार र बन्दना दुबैले आफ्ना जोडी वास्तविक जीवनमा निकै फरक भएको स्वीकार्छन् ।

“फोटोमा उनी अवोध देखिन्छिन्,” कुमार भन्छन् । “र ऊ फेसबुकमा निकै गम्भीर देखिन्थ्यो,” बन्दनाले भनिन् । फेसबुक एकप्रकारको मुखौटा हो जहाँ मानिसहरु आफ्नो सपनामा बाँच्छन् र आफूले चाहेजस्तो आदर्श रुपमा प्रस्तुत हुन्छन्– वास्तविकता भन्दा बेग्लै ।

तर, यसले टाढा रहेका आफन्तसँग कुराकानी गर्न, छिमेकमै रहेका युवा युवतीबीच चिनजान गराउन पनि सहज बनाइदिएकोे छ ।
————————————————————————————————–
फोन विवाह
-
इचोक सिन्धुपाल्चोककी १९ वर्षीया अनु लामा सन् २००९ मा घरेलु कामदारका
रुपमा कुवेत पुगिन् । उनले त्यहाँ मोबाइल फोन किनेपछि नेपालीसँग सम्पर्क गर्न सजिलो भयो । पराई देशमा सबै नेपाली आफन्त हुने नै भए ।

त्यस्तै फोनमा कुरा गर्ने एक युवकसँग उनको पिरती बस्यो र उनीहरु नेपाल फर्किएर विवाह गरे । रमाइलो कुरा त के भने, उनीहरुले फोनमा धेरै समय खर्चिए पनि नेपाल आएपछि मात्रै एक–अर्कालाई भेटेका थिए ।

केटा र केटीबीच फोन र इन्टरनेटका माध्यमबाट सम्पर्क हुन थालेपछि नेपालमा विवाह ‘हाइ–टेक’ बन्दैछ । किशोर किशोरीहरु आफ्नो विवाहका लागि अभिभावकको निर्णय कुर्दैनन् ।

यसले बेहुलीका परिवारलाई सजिलो पनि बनाइदिएको छ किनभने यसरी हुने विवाहमा दाइजो दिनु आवश्यक हुँदैन ।

हालै गरिएको एक अनुसन्धानले नेपालमा विवाहको औसत उमेर किशोरावस्थाबाट बढेर मध्यकिशोरावस्थासम्म पुगेको देखाएको छ ।

सन् २०१२ मा प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन र वल्र्ड भिजन इन्टरनेशनलले १५ जिल्लामा गरेको अध्ययनमा किशोर किशोरीहरुले आफैं आफ्नो जोडी खोज्नुको प्रमुख कारण मोबाइल फोन भएको दाबी गरिएको छ ।

बच्चाहरुलाई आफ्ना सहपाठीसँग भाग्नबाट कसैले रोक्न सकेको छैन । “शिक्षक र प्रिन्सपल समेत उनीहरुका राम्रा विद्यार्थीलाई चाँडै विवाह गर्नबाट रोक्न सकिरहेका छैनन्,” पूर्वी तराईमा दाइजो र बालविवाह विरुद्ध काम गरिरहेको ‘भोर नेपाल’ का राजकुमार महतो भन्छन् ।



अरु सामाजिक जटिलता ब्यहोर्नुभन्दा दुवै पक्षका परिवारले यस्ता ‘प्रेम विवाह’ लाई स्वीकृति दिने गरेका छन् ।

सिन्धुपाल्चोकको माझगाउँका अशिक्षित र सीमान्तकृत परिवारका किशोर–किशोरीमा ‘मोबाइल विवाह’ झनै बढेको छ । अभिभावक र गाउँलेहरुले यस्तो विवाहलाई निरुत्साहित गर्ने प्रयास गरे पनि किशोरहरुको दबाब अगाडि उनीहरुको केही चल्दैन ।

कहिल्यै नभेटेका केटाहरुसँग गफिने आफ्ना साथीहरुको सिको गर्दै इसा दनुवार (हे. तस्वीर) ले पनि मोबाइल किनिन् र त्यसपछि फोनमै चिनजान भएको केटासँग उनी भागिन् ।

अहिले १७ वर्ष पुगेकी इशा दुई वर्षको छोराको आमा भइसकेकी छन् । विवाहपछि उनले पढाई त छोड्नु प¥यो नै अहिले परिवारलाई हातमुख जोर्न पनि धौधौ छ ।
गोर्खा र सिन्धुपाल्चोकमा किशोरी शिक्षाका क्षेत्रमा काम गरिरहेको ‘हर टर्न नेपाल’ की ओला पर्जसिन्स्काका अनुसार अधिकांश यस्ता विवाह केटीकै निर्णयका आधारमा हुन्छन् ।

“हामीले १४ वर्ष पुगेपछि आफैले रोजेर विवाह गर्ने किशोरीहरु धेरै भेटेका छौं,” उनले भनिन्, “तर, किशोर वयमै विवाह गर्दा हुने समस्या थाहा पाएपछि २० वर्ष नपुग्दै विवाह नगर्ने र पढाइ जारी राख्ने निर्णय लिएका पनि थुप्रै छन् ।”

, , , , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.