ज्ञानेन्द्रले तोडे वैद्य माओवादीको पूर्वाञ्चल बन्द

ध्रुव भट्टराई
२५  पुस, बिराटनगर । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले शुक्रबार आयोजना गरेको पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित बनाएको छ । तर, पूर्वराजा ज्ञानेन्द्र शाहले भने वैद्यको बन्दलाई वास्तै नगरी झापादेखि बिराटनगरसम्म आफैं ड्राइभिङ गरेका छन् ।

विराटनगर विमानस्थलमा ज्ञानेन्द्र शाह (कालो चस्मामा)
पूर्वराजा ज्ञानेन्द्रले रहर लागेर वैद्यको बन्द तोडेका चाँहि होइनन् । माओवादीद्वारा आयोजना गरिएको बन्दकै दिन पारेर काठमाडौंबाट पूर्वरानी कोमल शाह बिराटनगर विमानस्थलमा ओर्लिएपछि ज्ञानेन्द्र शाह बन्द उल्लंघन गर्न बाध्य भएका हुन् ।
झापाको दमकस्थित चिया बगानमा नातिनातिनासँग बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शुक्रबार बिहानै पत्नी कोमललाई लिन बिराटनगर आउने क्रममा प्रहरीले उनलाई स्कटिङ गरेको थियो ।
पूर्वराजा  पुस २३ देखि झापाको दमकमा हिमालयन टि स्टेटमा बस्दै आएका छन् । पूर्वरानी कोमल शुक्रबार बिहान ११ बजे बुद्ध एयरबाट बिराटनगर विमानस्थलमा ओर्लिएकी हुन् । कोमललाई लिन पूर्वराजा बन्द छिचोल्दै बिराटनगर आइपुगे र बन्दकै वीचबाट झापा फर्किए ।


विराटनगर विमानस्थलमा कोमल शाह
पूर्वराजा बिराटनगर आउँदा उनका समर्थकहरुको उपस्थिति खासै थिएन । बिराटनगर विमानस्थलमा उनले कोमललाई करिव १ घण्टा कुर्नुपरेको थियो ।
बिराटनगर विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीले प्रश्न राख्दा पूर्वराजा ज्ञानेन्द्रले कुनै प्रतिक्रिया नदिई मुसुमुसु हाँसेर वा ४ प ३८०७ नम्बरको सवारी आफैले ड्राइभिङ्ग गर्दै बन्दको वास्ता नगरी दमकतर्फ  लागे ।
पूर्वराजा र पूर्वरानी  दमकस्थित चिया बगानमा दुई हप्ता बस्ने कार्यक्रम रहेको पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकले बताए । पूर्वाञ्चलमा पूर्वराजाको कुनै पनि औपचारिक  कार्यक्रम नरहेको पाठकले बताए ।
गत पुस ७ गते काठमाण्डौबाट नाति नातिनासहित चितवन गएका  पूर्वराजा ज्ञानेन्द्र पुस २० गते सिमरा पुगेका थिए । उनी पुस २३ गते झापा आइपुगेका हुन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.