सावधान ! राजधानीमै नक्कली नेपाली नोट छ्याप्छ्याप्ती

काठमाडौं- राजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो। उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केही खस्रोजस्तो महसुस भयो। कतै नक्कली त होइन? उनको पसलमा कपडा किन्न आएका नारायणपुर–९, दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले तुरुन्त प्रहरी बोलाइन्।





प्रहरीले वर्काईफर्काई नोट नियाले।
यकिन भएन, नजिकैको बैंकमा लगेर जँचाए।
नभन्दै, शर्माको शंका सही निस्कियो। नोट नक्कली नै रहेछ।
झटपट चौधरीलाई नियन्त्रणमा लिएर खानतलास गर्दा उनको साथबाट त्यस्ता थप १४ वटा नोट फेला परे, जुन सबै नक्कली थिए।
'छाम्दा केही खस्रो लाग्यो भनेर खबर आयो,' महानगरीय प्रहरी वृत्त, महाराजगन्जका प्रमुख सानुराम भट्टराईले नागरिकसँग भने, 'सक्कलीको तुलनामा केही खस्रो भए पनि हेर्दा सक्कलीझैं देखिएपछि बैंकमा लगेर परीक्षण गरायौं, नक्कली नै रहेको खुल्यो।'
लगत्तै चौधरीलाई पक्राउ गरी प्रारम्भिक बयान लियो प्रहरीले। प्रहरीका अनुसार चौधरीले तुरुन्तै स्विकारे र दाङमा रहेको आफ्नै घरमा रंगीन फोटोकपी गरेर नक्कली नोट तयार पारेको सूचना दिए। लगत्तै दाङ प्रहरीले उनको घर छापा मार्दा पनि नक्कली नेपाली रुपैयाँ फेला परेको भट्टराईले जानकारी दिए।
चौधरीले नक्कली नोट तयार पारेर बिहीबार पहिलो परीक्षण गर्न कपडा पसल पुगेको प्रहरी बयानमा दाबी गरेका छन्। प्रहरी भने उनको भनाइ पत्याइहाल्न तयार छैन। प्रहरीको आशंका छ– चौधरी नक्कली नोट गिरोहकै सदस्य हुन सक्छ। किनकि, बजारमा नेपाली नक्कली नोट फेला परेको यो पहिलो घटना होइन।
'दाङको घरमा समेत केही नक्कली नोट फेला परेका छन्,' भट्टराईले भने, 'प्रारम्भिक बयानमा आफू एक्लैले काम गरेको बताएका छन्, समूह नै छ या उनी एक्लै हुन् भन्ने पाटोमा अनुसन्धान भइरहेको छ।'
नक्कली भारतीय रुपैयाँका कारोबारी नेपाललाई 'हब' नै बनाएर भारतमा कारोबार फैलाउन सक्रिय देखिएकै बेला पछिल्लो समय नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रमसमेत बढेको देखिन्छ। यसरी पक्राउ पर्नेमा भारतीय नागरिकको संख्या बढी छ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०६६ यता १६ लाख नक्कली नेपाली रुपैयाँ फेला परिसकेको छ।
२०६९ मा नक्कली नेपाली रुपैयाँ फेला पर्ने क्रम ह्वात्तै बढेको थियो। २०७१ मा आएर पुनः नक्कली नेपाली रुपैयाँका कारोबारी सक्रिय हुने प्रयासमा रहेको देखिन्छ।
प्रहरी तथ्यांकअनुसार एक महिनाअघि मात्र झापामा ५० हजार नक्कली नेपाली रुपैयाँ फेला परेको थियो। प्रहरीले कात्तिक १९ गते ५० हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक राजगढका श्याम महाली र सिनु महालीलाई पक्रेको थियो।
पाँच महिनाअघि बारामा पनि १ लाख नक्कली नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका थिए। असार २५ गते समातिएका उनीहरू भारतीय महम्मद मुस्तकिम र नेपाली रामदयाल ठाकुर लोहार थिए। यो घटनाबाट भारतको प्रेसमा छापिएका नक्कली नेपाली नोट बजारमा छरिएको खुलेको थियो। प्रहरीले यी दुवै जनाविरुद्ध खोटा चलन मुद्दा चलाए पनि यो समूहका अन्य सदस्य फेला पर्न सकेनन्।
२०७० भदौ १९ मा विराटनगरमा ८ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक किसनकुमार भगत पक्राउ परेका थिए। जोगबनी नाकाबाट विराटनगर छिरे लगत्तै उनी पक्राउ परेका थिए। उनको साथबाट फेला परेको ८ वटै हजार नोटको नम्बर एउटै देखेपछि सशस्त्र प्रहरीले सहजै नोट नक्कली भएको भेउ पाएको थियो।
२०७० वैशाखमा नारायणी प्रहरीले वीरगन्जमा १ लाख ३८ हजार नक्कली नेपाली रुपैयाँसहित स्थानीय वहिद अन्सारीलाई पक्रेको थियो।

संगठित समूह
तीन वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा नक्कली नेपाली रुपैयाँका कारोबारीले वीरगन्जलाई हब बनाएको खुलेको थियो। नक्कली नेपाली रुपैयाँ फेला परेका जिल्लाका आधारमा बारा, कञ्चनपुर, चितवन, कैलाली, नवलपरासी, धनुषा, गोरखा, काठमाडौं, नुवाकोट, गुल्मी, तनहुँमा कारोबारी बढी सक्रिय देखिन्छन्।

२०६८ मंसिरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ लाख ११ हजार नक्कली नेपाली रुपैयाँसहित विनोदकुमार साह र शिवशक्ति पोखरेललाई काठमाडौंमा पक्रेको थियो। ब्युरोको अनुसन्धानमा साह भारतीय नक्कली नोटको कारोबार छाडेर नेपाली नक्कली नोटको कारोबारमा संलग्न भएको खुलेको थियो।
साह २०६६ चैतमा नक्कली भारुसहित पक्राउ परेर धरौटीमा रिहा भएपछि कपडा व्यापारी पोखरेलसँग मिलेर नेपाली नोट कारोबारमा लागेका थिए। पछिल्लो समय पक्राउ परेका कारोबारी अधिकांश भारतीय नागरिक रहेको देखिन्छ। ब्युरोको अनुसन्धानमा यस्ता कारोबारी सहरी क्षेत्रभन्दा बढी तराई र पहाडका ग्रामीण क्षेत्रमा सक्रिय रहेको खुलेको थियो।
केन्द्रीय प्रहरी प्रवक्ता माधव जोशी फाट्टफुट्ट नक्कली नेपाली रुपैयाँ फेला परिरहे पनि यसले संगठित स्वरुप लिइनसकेको बताउँछन्। हालसम्म पक्राउ परेका कारोबारी र उनीहरूको कार्यशैली हेर्दा व्यक्तिगत तहमै यो अपराध रहेको उनको तर्क छ।
'संस्थागतभन्दा व्यक्तिगत रूपमा नक्कली नेपाली नोट कारोबारको प्रयास भइरहेको देखिन्छ,' उनले भने, 'अहिलेसम्म संगठित स्वरुप लिइसकेको देखिएको छैन।'

भारतीय प्रेसमा नेपाली नोट
प्रहरीले २०६७ सालमा ललितपुरको ठैबमा २ लाख ९२ हजार नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्रेको थियो। जहाँगिर सेखको ठैबस्थित डेरामा प्रहरीले छापा मार्दा गुणस्तरीय कागजसँगै रंगीन फोटोकपी मेसिनसमेत फेला पार्योज। परीक्षणमा फेला परेका नोट फोटोकपी गरिएको खुल्यो।
बारामा फेला परेको नोट भने फोटोकपी थिएन। सामान्य रूपमा आँखाले हेर्दा सक्कली बराबरकै गुणस्तर रहेको नोट परीक्षणमा आधुनिक प्रेसमा छापिएको खुलेको थियो। बारामा पक्राउ परेका लोहार दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय यथार्थवादी पार्टी नेपालबाट सामानुपातिकतर्फबाट उम्मेदवार बनेका र उनले निर्वाचनमा मतदाता प्रभावित पार्न नक्कली नोट बाँडेको समेत खुलेको थियो। उनले आफ्नो बयानमा भारतीय प्रेसमा छापेर नक्कली नोट नेपाल ल्याएको खुलाए पनि अनुसन्धान त्यहाँबाट अगाडि बढ्न सकेन।
प्रहरीले बरामद गरेका नक्कली नोटमा अधिकांश ५ सय र हजारका छन्। सयका नोटसमेत फेला पर्ने गरे पनि त्यसको संख्या न्यून छ। डिआइजी जोशीले प्रविधिको सहज प्रयोगका कारण नक्कली नेपाली नोटको गुणस्तरीयता बढेको हुनसक्ने बताउँदै सानो परिमाणमै कारोबार हुनु पनि अर्थतन्त्रलाई चुनौती हुने भएकाले नक्कली नोट कारोबार नियन्त्रणलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए। नागरिक समाचारबाट साभार ...

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.