यस्ता छन् खाने तेलबारे जान्‍नैपर्ने कुराहरु

हिजोआज बजारमा अनेक प्रकारका खाने तेल पाइन्छ। त्यस्ता तेल स्वास्थ्यका लागि लाभदायक छन् भन्दै विज्ञापन पनि आउने गर्छ। तर तेलको गुणस्तर कस्तो छ भनेर धेरैलाई जानकारी छैन। गुणस्तर मापनमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा हेर्दा शुद्ध र राम्रो देखिने खाने तेल पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ।

विज्ञापनमा तोरीको तेलभन्दा सूर्यमुखी, मकै, भटमास आदिको तेललाई राम्रोसमेत भन्ने गरेको पाइन्छ। तोरीको तेलभन्दा अन्य तेल वास्तवमै राम्रा हुन् त? यसको उत्तर धेरै मानिसले सुन्न चाहिरहेका हुन्छन्।

शुद्ध भए पनि खाने तेलको प्रयोग बढी गर्नु स्वास्थ्यका लागि राम्रो नमानिने मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित पुस्तक 'म पनि डाक्टर'मा उल्लेख छ। खाना पकाउँदा तेल डढाउने, मीठो हुने भ्रममा धेरै तेल हालेर खाना पकाउने बानीले रोगमात्र निम्त्याउने डाइटिसियन जय प्रधान बताउँछिन्।




त्यसमा पनि अनेकौं चीजको मिसावटबाट बनेका तेलले स्वास्थ्यलाई हानि गर्छ। त्यसैले सही खाने तेल रोजेर उचित मात्रामा ठीक तरिकाले प्रयोग गर्नुपर्छ। महँगो हुनासाथ र कोलेस्ट्रोल फ्री लेखिनेबित्तिकै तेलहरू हानिकारक छैनन् भन्न नसकिने विज्ञहरू बताउँछन्।

खाने तेलबारे जानौं

खाने तेल किन्ने र प्रयोग गर्ने बेला जोकोहीले विचार पु:याउनुपर्छ। यसका लागि तेलमा कुनकुन तत्त्व र त्यसको मात्रा कति छ भन्ने सामान्य जानकारी राख्नुपर्छ। कुनै पनि खाने तेल किन्नुपहिले सैचुरेटेड फ्याट, पोली अनसैचुरेटेड फ्याट र मोनो अनसैचुरेटेड कति छ भनेर थाहा पाउनुपर्छ। खाने तेलमा सैचुरेटेड फ्याट जति कम भयो, त्यति नै स्वास्थ्यलाई फाइदा पु:याउँछ। मोनो र पोली अनसैचुरेटेड फ्याट भने खाने तेलमा बढी भएको राम्रो मानिन्छ।

कुन तेलमा कुन फ्याट

ओलिभको तेल : ओलिभको दानाबाट उत्पादन हुने यो तेल सबैभन्दा महँगो पर्छ। खाना, सौन्दर्य, औषधि, साबुन उत्पादन, शरीरको मसाज आदिका लागि यो तेल प्रयोग हुने गरेको छ। मोनो अनसैचुरेटेड बढी पाइने यो तेलमा ओलिक एसिड, पल्मिटिक एसिड र फ्याटी एसिडको मिसावट हुने गर्छ।

तोरीको तेल : यो तेलमा ओलिभको जस्तै मोनो अनसैचुरेटेडको मात्रा बढी हुन्छ। तोरीको तेलमा पाइने ओमेगा थ्री फ्याटी एसिड, आइरन, क्याल्सियम, जिन, म्याग्नेसियमलगायत तत्त्वहरू स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छन्।

तोरीको तेलमा पाइने ओमेगा ६ र ओमेगा थ्रीले मुटु बलियो बनाउँछ। आयुर्वेदका अनुसार तोरीको तेल मसाज गर्न र एन्टिब्याक्टोरियलका रूपमा प्रयोग गरिन्छ। यसले शरीर बलियो बनाउनुका साथै रक्तसञ्चारमा समेत सुधार ल्याउने डाइटिसियन प्रधान बताउँछिन्।

सूर्यमुखीको तेल : स्वाद हल्का हुने यो तेलमा भिटामिन 'ई' पाइन्छ। यसमा मोनो र पोली अनसैचुरेटेड दुवै पाइन्छ। बजारमा अहिले यो तेल बढी पाइन्छ। बढी फ्याट हुने भएकाले यो तेलले धेरै क्यालोरी प्रदान गर्छ। यसबाट मानिस मोटोपनको सिकार हुन थाल्छ। यो तेल एकपटक प्रयोग गरिसकेपछि पुन: प्रयोग गर्नु राम्रो मानिँदैन।

भटमासको तेल : भटमासको तेलमा सबैभन्दा बढी प्रोटिन पाइन्छ। यसमा मोनोभन्दा पोली अनसैचुरेट बढी पाइन्छ। स्वास्थ्यका लागि यो तेल त्यति फाइदाजनक मानिँदैन। यो तेल पनि पटकपटक तताएर प्रयोगमा ल्याउनु राम्रो होइन।

मकैको तेल : अन्य तेलमा भन्दा यसमा सैचुरेटेड फ्याट बढी पाइन्छ। स्वास्थ्यका दृष्टिमा यो तेल सूर्यमुखीजत्तिकै राम्रो मानिन्छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.