स्वास्थ्यलाभ गरेका स्थानीय भन्छन्, ‘नियमित योग गर्नोस्, रोग भगाउनोस्’

म्याग्दी, कात्तिक २ – एघार वर्षदेखि दमका कारण सास्ती खोपेका बेनी नगरपालिका–४ का खड्गबहादुर थापाको स्वास्थ्यमा परिवर्तन आएको छ ।     रोगका कारण घरमै बसेर बित्ने उनको दिनचर्यामा पनि अहिले परिवर्तन आएको छ । उनी निर्धक्क गाउँमा हिँडडुल गरिरहेका भेटिन्छन् ।     श्वासप्रश्वास प्रणालीमा उत्पन्न समस्याका कारण थलिएकी मङ्गालाघाटकी सुमित्रा पुन पनि रोगमुक्त भएकी छिन् ।     थापा र पुन स्वस्फूर्तरुपमा ठीक भएका होइनन्, न त कुनै चिकित्सकले दिएको औषधि सेवन गरेर नै उनीहरूले स्वास्थ्यलाभ गरेका हुन् । योग गरेर १५ दिनमै उनीहरूको स्वास्थ्यमा परिवर्तन आएको हो ।     तीन वर्ष अघिदेखि योग सिकाउँदै आएका पतञ्जली योगका प्रशिक्षक नवीन जुग्जाली नियमितरुपमा योग गरे ‘ब्लड क्यान्सर’ जस्ता रोग निको पार्न सम्भव रहेको दाबी गर्छन् ।     योग साधकहरूका अनुसार योगबाट शरीरमा स्फूर्ति, ग्याष्ट्रिक, कम उमेरमै कपाल फुल्ने, अल्सर, कब्जियत, गठिया, बाथजस्ता रोगहरु निको गर्न सकिन्छ ।     शारीरिक स्फूर्ति, दिमागी एकाग्रता र स्मरणशक्ति बढाउनसमेत योग प्रभावकारी भएकोे बेनी बजारको बयोवृद्ध नैनकुमार श्रेष्ठले बताए । त्यसैगरी नियमितरुपमा योग गरेका कारण आफ्नो स्मरण शक्ति बढ्नुका साथै मानसिक तनावबाट समेत मुक्ति मिलेको शिक्षक रामचन्द्र जैसीले बताए ।     “पहिलेपहिले पढाउने विषयवस्तुबारे जति अध्ययन गरेर गए पनि बिर्सन्थँे, कापीमा लेखेर लैजानुपथ्र्यो, योग गर्न थालेपछि बिर्सने समस्याबाट मुक्ति मिलेको छ” योगबाट प्राप्त लाभबारे उल्लेख गर्दै जैसीले भने ।     रोगमुक्त समाजको निर्माण गर्न योगलाई देशव्यापीरुपमा विस्तार गर्न जरुरी भएको विचार योग प्रशिक्षक जुग्जाली व्यक्त गर्छन् ।     मानसिक र शारीरिकरूपमा नागरिकलाई सक्षम बनाइए देश उन्नतिको पथमा अघि बढ्न सक्ने उल्लेख गर्दै उनले अनुशासित समाजको निर्माण योग गर्नु श्रेयस्कर भएको बताए ।     आठ प्रकारका प्रणायाम, १२ प्रकारका आसन र ६० प्रकारका योग गरे रोगबाट मुक्ति मिल्ने र स्फूर्ति बढ्ने बताउँदै प्रशिक्षक जुग्जालीले योगले शरीरमा सकारात्मक प्रभाव पार्ने ठोकुवा गर्छन् ।     छिमेकी मुलुक भारतमा झैँ नेपालमा पनि कक्षा ५ देखि १२ कक्षासम्म योगबारे पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाव छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.