डन्डिफोरको दाग छ भने चिन्ता नलिनुस् - डा. सुशिल देवकोटा

डन्डिफोरबाट हरेक उमेर समूहका मानिस पिडित हुन सक्छन् तर यसले किशोरावस्थामा रहेका युवा युवतीलाई बढी प्रभावित गर्दछ किनकि यो उमेरावस्थामा उनीहरुको शरीरमा हर्मोनको अवस्था गडबड हुुने गर्दछ। तर कतिपय अवस्थामा भने वयस्क व्यक्तिहरुमा पनि यसले समस्या पारेको देखिएको छ जबकी उनीहरु किशोरावस्थामा विल्कुल स्वस्थ थिए। त्यसैगरी कतिपय अवस्थामा विशेष गरी दीर्घकालीन डन्डिफोरको समस्यामा र अझ यसलाई उपचार नगरिएको खन्डमा डन्डिफोरले नराम्रा दागहरु छालामा छोडेर जान्छन्। अनुहारमा खाल्डाखुल्डी परेर अनुहार नराम्रो देखिने आम समस्या भै सकेको छ। डन्डिफोरका दागहरु समयसंगै कम हुंदै जान्छ तर कहिलेकाहीं त्यसता दागहरु यति धेरै हुन्छन् कि त्यसले पिडितको व्यक्तित्वमै नकारात्मक असर पार्दछ। वयस्कहरुमा पनि यस किसिमका समस्याहरु देखिने भएता पनि त्यो एकदम कम मात्रामा मात्र हुने गर्दछ। यसरी वयस्क अवस्थामा हुने डन्डिफोर छालाको एलर्जीको कारण वा जम्मा भएका विशाक्त पदार्थहरुको कारण हुने गर्दछ। अर्को एकदम दुःखपूर्ण डन्डिफोर भनेको कपालको डन्डिफोर हो। यो पिडादायक हुनुका साथै उपचार गर्न पनि कठिन हुने प्रकारको डन्डिफोर हो किनकि त्यहां कपाल भएको कारण कुनै प्रकारका क्रिम वा एन्टिबायोटिकको प्रयोग गर्न कठिन हुन्छ। डन्डिफोरको कारण बसेको दाग हटाउने विभिन्न किसिमका उपायहरु छन् जसको कारण मरेको छाला हट्ने र नयां छालाले प्रतिस्थापन गर्ने अवस्थाको सृजना हुन्छ। यसको निम्ति लेजर टि्रटमेन्ट देखि कस्मेटिक सर्जरी सम्मका उपचार उपलब्ध छन्। यसका अलावा डन्डिफोरको दाग हटाउनको निम्ति प्राकृतिक औषधीहरु पनि उपलब्ध नभएका होइनन्।
पानीलाई डन्डिफोरको निम्ति मात्र होइन छालाको कान्ति बढाउनको निम्ति पनि उपयुक्त औषधीको रुपमा लिन सकिन्छ। छालालाई यसको उच्चतम स्वस्थ अवस्थामा राख्नको निम्ति आठ देखि दश लिटर पानीको सेवन गर्न आवश्यक हुन्छ। पानी पिए पश्चात छालाको कान्तिमा वृद्धि भई नरम र बढी चमकपूर्ण हुन जान्छ। आफ्नो छालाको प्रभावकारी उपचार गर्न आवश्यक पर्दछ। आफ्नो खाने तौर तरिकामा परिवर्तन गरी खानामा पर्याप्त मात्रामा फाइबरको मात्रा बढाउन आवश्यक हुन्छ। तपाईंको खानाले तपाईंको छालालाई प्रत्यक्ष रुपमा प्रभाव पार्दछ। त्यसैकारण जति बढी ताजा फलफूलको सेवन तपाईं गर्नुहुन्छ त्यति बढी तपाईंको शरीरको पिएच ब्यालेन्स नियन्त्रणमा आई शरीरको छाला राम्रो हुन जान्छ। त्यसैगरी डन्डिफोरमा प्रत्यक्ष भिटामिन इ को प्रयोग गरिएको खन्डमा पनि डन्डिफोरको राम्रो उपचार हुन सक्छ। भिटामिन इ को क्याप्सुललाई फुटाएर डन्डिफोरमा लगाइएको खन्डमा त्यो डन्डिफोर निको हुनुका साथै यसमा दाग समेत हुंदैन। त्यसैगरी डन्डिफोरले छोडेको दागमा ओलिभ ओइलको प्रयोग गरियो भने त्यो दाग पनि कम हुंदै जान्छ तर यो उपाय पुराना दागहरुको हकमा भने कम मात्र प्रभावकारी हुने गर्दछ। नयां दागहरुको हकमा छाला अझै पनि ताजा नै हुने भएको कारण दाग कम हुने प्रकृया पनि छिटो हुने गर्दछ। प्राकृतिक उपचारको सबैभन्दा उत्कृष्ट औषधी भनेको कागतीको रसको प्रयोग नै हो। कागतीको ब्लिचिंग गर्ने गुणको कारण दाग कम हुने मात्र नभै छालाको कान्ति पनि बढ्ने गर्दछ। छाला हाम्रो शरीरको सबैभन्दा बाहिरी अंग हो जसले हाम्रो शरीरमा हुने विभिन्न किसिमका संक्रमण तथा चोटपटकबाट बचाउनको निम्ति सहयोग गर्दछ। तर हामी हाम्रो छालामा दाग नभए सम्म हामी यसको महत्वलाई बुझ्न सक्दैनौं। डन्डिफोरको दाग लगायत अन्य विभिन्न कुराको दाग विभिन्न कुरामा भर पर्दछ। तपाईंको उमेर, लिंग, आकार, घाउको गहिरोपन आदिको आधारमा दाग कत्तिको छिटो निको हुन्छ भन्ने कुरा निर्भर हुन्छ। डन्डिफोरले छोड्ने खतको कारण बढी असर अनुहारमा पर्दछ जसको कारण विरामीको आत्मविश्वासमा समेत कमी आउने संभावना रहन्छ। यसले पनि बताउंछ कि डन्डिफोरको दाग हटाउने उपचारले कत्ति बढी प्राथमिकता पाएको छ भन्ने कुरा। दाग गराउने मुख्य चार कुराहरुमा डन्डिफोरले प्राथमिकता पाउंछ। डन्डिफोरकै दागको पनि विभिन्न प्रकार रहन्छ। गहिरो, फैलिएको लगायतका विभिन्न प्रकारका दागहरु हुने गर्दछ। कतिपय दागहरु आफैं हराएर जाने खालका पनि हुने गर्दछन्। यसरी हराउने दागहरुले ६ देखि १८ महिना सम्म लाग्न सक्छ। तर दीर्घकालिन दागहरुको उपचारको निम्ति भने प्रकृया फरक फरक हुन सक्छन्। प्राकृतिक रुपमा उपचारको निम्ति विभिन्न तेल, विभिन्न प्रकारका माटो र जडिबुटीयुक्त विभिन्न औषधीहरुको प्रयोगमा आउन सक्छन्। यसरी निको हुनको निम्ति काफी समय लाग्न सक्ने भएको कारण दागको प्रकार हेरी उपचारको प्रकृति फरक फरक हुन सक्छ। कतिपय अवस्थामा लेजर थेरापी अत्यन्त लाभदायक हुन सक्छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.