किन मनाइन्छ भाइटीका ? यस्तो छ भाइटीकाको महत्व..........
भाइटीकाको साइत विहान ११ बजेर ३५ मिनेटमा
काठमाडौं : नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको महत्वपूर्ण तथा अन्तिम दिन शनिबार दिदीबहिनीहरुले दाजुभाइलाई भाइटीका लगाइदिँदैछन् । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३५ मिनेटमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लाउनेका लागि यो साइत निकालिएको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । तिहारको अन्तिम तथा म दिन अर्थात् कात्तिक शुक्ल द्दितियाका दिन यो पर्व उत्साहका साथ मनाइन्छ।
यो पर्व दिदीले भाइलार्इ र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विधिपूर्वक पूजा गर्ने चलन छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यो वर्ष कात्तिक ४ गते बाट शुरु भएको हो ।
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल सम्वत् ११३५ एवम् म्हपूजा मनाइयो ।
शनिबार परेको भाइटीकालाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बली राजाका लागि आफ्नो राज्य छाडेको कथन पनि जोडिएको छ ।
यसरी चल्यो भाइटीका
भाइटीका पौराणिक कथा परापूर्वकालमा मृत्युका राजा यमराज बहिनी यमुनालाई भेट्न यमलोकबाट पृथ्वीमा लामो समय आएका थिएनन्। त्यसैले यमुनाले निम्ता दिएर दाजुलार्इ बोलाइन्, त्यो बेलामा यमपञ्चक परेको थियो। यमराज यमपञ्चकभर यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीका शुरु भएको विश्वास छ ।
भाइटीकालाई दाजुभाइसँग भेटघाट हुने, बिग्रेको सम्बन्ध सुधार गरी अझ दीगो बनाउने माध्यमका रूपमा लिइन्छ। यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ। दिदीबहिनीले दाजुभाइलाई अघिल्लै दिन भाइटीकाको निम्ता दिने चलन छ । भाइटीकाका दिन टीका नलाई केही खान नहुने परम्परा छ ।
भाइटीकाको पूजाविधि
टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्ने चलन छ । यमराज, हनुमान्,विभिषण र परशुराम अष्ट चिरञ्जीवीमा पर्छन्। भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो, सयपत्रीको माला, रोटी अन्य परिकार चाहिन्छ ।
भाइटीकाको पूजा गर्दा सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ। त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ।
पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ। फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियो रहन्छ।
दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिएको हुन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिने पनि परम्परा छ । यसले आयु बढाउने विश्वास छ भने राष्ट्रियता समते झल्काउँछ।
दाजुभाइले दिदिबहिनीलार्इ मिठामिठा परिकार खुवाउने, दाजुभाइले दिदीबहिनीलाई दान(दक्षिणा एवम् उपहार दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ।
दिदिबहिनी नहुनेहरु रानीपोखरी मन्दिरमा
दिदीबहिनी नहुने दाजुभाइहरु वर्षमा एक पटकमात्र खुल्ने काठमाडैको रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन्। वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा भाइटीकाको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिर परिसरमा बसेका दिदीबहिनीबाट भाइटीका लगाउँछन् ।दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने पनि चलन छ ।
http://www.annapurnapost.com
0 comments
Write Down Your Responses