लापरबाही गर्ने निर्माण व्यवसायीलाई साढे छ लाख जरिवाना

 म्याग्दीमा सञ्चालित सडक निर्माणसम्बन्धी योजनामा लापरबाही गर्ने निर्माण व्यवसायीबाट रु साढे छ लाख जरिवाना असुल गरिएको छ ।
सडक डिभिजन कार्यालय पोखराले गत आर्थिक वर्ष २०७०÷७१ मा म्याग्दीमा सञ्चालन भएका योजनामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई जरिवाना तिराएर कारबाही गरेको हो ।
ढिलासुस्ती र गुणस्तर तथा लगतअनुसारको काम नगर्ने १३ वटा फर्मलाई रु छ लाख ४९ हजार ७७६ जरिवाना तिराएको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यालयमार्फत गत आवमा बागलुङ बेनी जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डसहित २८ वटा योजना सञ्चालनका लागि जिल्लामा रु १० करोड ६७ लाख ७ हजार विनियोजन भएको थियो ।
बीसवटा निर्माण कम्पनीले रु १० करोड बराबरको योजनाको काम रु दुई करोड एक लाख ९६ हजार ३५ मा सम्पन्न गर्ने सम्झौता गरेका थिए । समयमै कार्यक्षेत्रमा उपस्थित नहुने, लगतअनुसार काम नगर्ने र ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई सम्झौता रकमको ०.०५ प्रतिशत प्रतिदिनका दरले जरिवाना गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।
बेनी जोमसोम सडकको भीरकाटेमा आरसिसी पर्खाल बनाउने योजनाको जिम्मेवारी पाएको महालक्ष्मी श्रीकाली जेभी कास्कीले सबैभन्दा बढी रु तीन लाख आठ हजार जरिवाना तिरेको छ । यसैगरी पाँचवटा योजनाका लागि ठेक्का सम्झौता गरेको झी निर्माण सेवा बेनीबाट रु एक लाख ४९ हजार ९५४ जरिवाना असुलउपर गरिएको छ ।
कार्यालयका अनुसार जरिवानामा पर्ने निर्माण कम्पनीमा ढुङ्गाना कन्स्ट्रक्सन बेनी, ज्योति किरण निर्माण सेवा म्याग्दी, महादेव निर्माण सेवा म्याग्दी, कन्स्ट्रक्ट नेपाल कास्की, ब्रदर्श बिल्डर्स कास्की, शेर्पा निर्माण सेवा म्याग्दी र ओखलढुङ्गा इन्जिनियरिङ कन्स्ट्रक्सन कास्की रहेका छन् ।
लागत अनुमानभन्दा धेरै रकम घटेर ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायीले काम अर्काे ठेकेदारलाई बेच्ने र आर्थिक अभावको कारण देखाउँदै योजनालाई अलपत्र पार्नुका साथै बजेट फ्रिज गराएको जनगुनासो रहेको छ ।


0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.