फ्रान्सेली नायिकाद्वारा गढीमाईमा पशुबली रोक्न राष्ट्रपतिलाई पत्र
पशुअधिकार कर्मी यी नायिकाले पशुबलीको यो परम्परा रोकेर पुस्तौसम्मलाई शान्ति र सद्भावको सन्देश दिनसमेत आग्रह गरेकी छिन्। 'गढीमाई देवी निर्दोष प्राणीको बलीमा खुसी हुन्छिन् र यस्तो क्रूर हिंसाबाट सम्वृद्धि प्राप्ति हुन्छ भन्ने विश्वास गर्न सक्दिनँ,' उनले पत्रमा लेखेकी छिन्।
आफूले महामहिम राष्ट्रपतिलाई सन् २००९ मा लेखेको पत्रको कुनै जवाफ नपाए पनि आशा नत्यागेको र यसले सकारात्मक परिणाम ल्याउँला भन्नेमा विश्वस्त भएको ब्रिजिट बताएकी छिन्। गढीमाई मेलामा हुने पशुबली रोक्न नेपाल र विश्वकै पशुअधिकारकर्मीले आवाज उठाइरहेका छन्।
'दुई दिनको अवधिमा २ लाख ५० हजार राँगा, सुँगुर, कुखुरा, परेवा, हाँस र सेतोमुसाको बली दिइने यो मेलालाई संसारले बेचैनीपूर्वक हेर्नेछ,' ब्रिजिटले लेखेकी छिन्, 'यस्तो अभ्यासले प्राचीन र क्रूर परम्परालाई मात्र प्रदर्शन गर्छ जुन यो संसारमा प्रचलनबाट हराइसकेको होला भन्ने मलाई लागेको थियो।'
विश्वका निम्ति यो अत्यन्तै रक्त पिपासु परम्परा भएको उल्लेख गर्दै फ्रान्सेली नायिकाले नेपालले प्राणीहरूलाई आघात नगर्ने सन्देश प्रवाह गरेर झन् धेरै आध्यामिक भावना फैलाउन सक्ने विश्वास पनि व्यक्त गरेकी छिन्।
'मास हिस्टेरिया'लाई उपयोग गर्न खोज्ने व्यवसायिक उद्देश्य बोकेको समूहलाई सरकारले वैधानिकता दिन नहुने आग्रह उनले गरेकी छिन्। 'त्यस्तै हो भने त सरकारले लागु औषध वा मदिरालाई वैधानिकता दिने पर्वको आयोजना गर्दा त झन् संसारभरिका 'भक्त'हरूलाई आकर्षण गर्न सक्छ,' उनले व्यंग्यात्मक शैलीमा लेखेकी छिन्।
भारतको गृह मन्त्रालयले नेपालमा पशु नलैजान छिमेकी चार जिल्लालाई आदेश दिएपछि त्यो रोकिएको चर्चा गर्दै हिमाञ्चल प्रदेश अदालतले समेत यसलाई निषेध गरिसकेको उनले उल्लेख गरेकी छिन्। 'यस्तो क्रूर परम्परा अन्त्य गर्न म महामहिमसँग विनम्र आग्रह गर्छु,' उनले पत्रमा लेखेकी छिन्, 'म यहाँलाई आश्वस्त गराउन चाहन्छु, यसले तपाईंको मुलुकमा सधैँ सम्पन्नता प्राप्त हुनेछ
।
'http://setopati.com/samaj/19838/
0 comments
Write Down Your Responses