'नौं वर्षपछि काठमाडौं एयरपोर्ट काम नलाग्ने'



काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२३ पछि यात्रुको चाप धान्न नसक्ने बताएका छन्।

राजधानीमा भएको पूर्वाधार सम्मेलनमा सुमनले अहिले निर्माणकै चरणमा रहेको बाराको निजगढमा निर्माण हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमा नै निर्माण नभए समस्या आउने बताए। यसअनुसार नौ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनै पर्ने बाध्यता हुनेछ।

सन् २०२३ पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्न नसकिने अवस्थामा पुग्नेछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नतिका लागि एसियाली विकास बैंक (एडीबी) ले सन् २०२८ सम्मको गुरुयोजना बनाएको भए पनि आगामी नौ वर्षपछि नै यसको क्षमता विस्तार गर्न नसकिने सुमनले जानकारी दिए। उनका अनुसार त्रिभुवन विमानस्थलमा भएको एउटै मात्र धावमार्ग र एप्रोच (जहाज अवतरण) सिस्टमका कारण सन् २०२३ पछि यो विमानस्थलको विकल्प खोज्नुपर्नेछ।

त्रिभुवन विमानस्थलबाट हुने वार्षिक उडानमध्ये ९० प्रतिशत आन्तरिक र १० प्रतिशत अन्तर्राष्ट्रिय रहेको सुमनले जानकारी दिए। यो विमानस्थलमा हुने यात्रु उडानमा करिब ४० लाख अन्तर्राष्ट्रिय र १५ लाख आन्तरिक उडानका यात्रु हुने गरेका छन्। निर्माण हुँदै गरेको पोखरा र स्तरोन्नति भइरहेको भैरहवा विमानस्थल मात्रै पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम विकल्प नभएको सुमनले बताए।

उनका अनुसार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनैपर्ने आवश्यकता प्राधिकरणले औंल्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ६० करोड डलर खर्च गरेर स्तारोन्नति गर्ने लगानी बोर्डको प्रस्तावले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुने हो कि भन्ने शंका उठेको उनले जानकारी दिए।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने हो भने त्रिभुवन विमानस्थलको स्तरोन्नतिको आवश्यकता पुष्टि गरेर अगाडि बढ्नुपर्ने प्राधिकरणका कर्मचारीले बताउँदै आएका छन्।

बारामा ६५ करोड अमेरिकी डलरमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सकिने अनुमान छ। निजगढ विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय एयर ट्रान्जिट बनाउन तथा यसबाट मध्य र सुदूरपूर्वको उडानमा सहज हुने भएकोले पनि यसलाई निर्माण गर्नुपर्ने सुमनको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तारोन्नतिका लागि सन् २०२८ सम्मको लाग्ने करिब ६० करोड डलर लाग्ने अनुमान गरिएको छ। यो रकम सबै खर्च गर्न एडीबीले नै तयार भए पनि विमानस्थलको क्षमता नै नहुने भएकोले अहिले निर्माण भइरहेको योजनाको दोस्रो चरणमा नै उसको लगानी हुने वा नहुने विषय तय नभइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजनाका प्रमुख पुन्यराज शाक्यले बताए।

उनका अनुसार अहिले एडीबीको सहयोगमा ८० करोड डलरको काम सुरु भएको छ। यो रकममध्ये आयोजनाले पहिलो चरणमा करिब १६ करोड डलर खर्च गरेको जानकारी शाक्यले दिएका छन्। यसबापत तीन सय मिटर धावनमार्ग थप भएको, नौवटा जहाजको पार्किङ थपिएको, धावनमार्गको बत्तीसहितका पूर्वाधारको विकास भएको बताए।

अब यो आयोजनाको दोस्रो चरण सन् २०१६ पछि मात्रै हुने जानकारी शाक्यले दिएका छन्। सम्मेलनमा नेपाल सरकारका एभीएसन प्लानिङ एडभाइजर सान्टियागो गोमेजले सबैभन्दा बढी आम्दानी हुने पूर्वाधार नै विमानस्थल भएको बताए। उनले सरकारले विमानस्थलको पूर्वाधार निर्माणपछि ४५ प्रतिशतसम्म राजस्व संकलन गर्न सक्ने बताए।

उनले विमानस्थल निर्माण गर्ने र सञ्चालन गर्ने विषयमा निजी क्षेत्र अगाडि रहेको बताए। उनका अनुसार विमास्थलको पूर्वाधार निर्माण गर्ने काम निजी क्षेत्रलाई दिने र यसको नियमन मात्रै सरकारले गर्नुपर्ने धारणा पेस गरेका छन्।

विमानस्थल निर्माणपछि सञ्चालनमा आएपछि हुने ल्यान्डिङ, पार्किङ, ड्युटी फ्रीसहितका कामबाट राम्रो आम्दानी गर्न सकिने अन्तर्राष्ट्रिय वित्त निगमका युरोप तथा एसिया केन्द्रका प्रबन्धक मोजाम मेकानले बताए। उनका अनुसार विश्वमै विमानस्थल निर्माण तथा सञ्चालनमा निजी क्षेत्रको भूमिका उल्लेख्य र प्रभावकारी भएको बताए।

सरकारले जुन क्षेत्रको जोखिम व्यवस्थापन गर्न सक्ने निजीले त्यही लगानी गर्ने टर्कीको टीएभी विमानस्थलका निर्देशक वालिड योसेफले बताए।

 http://annapurnapost.com/News.aspx/story/2316#sthash.MORG2axf.by2rXgEl.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.