कुटपिटको विरोधमा , जनकपुर बजार नै बन्द
३० असोज, जनकपुर ।
सशस्त्र प्रहरीको कुटपिटको विरोधमा बजार नै बन्द गरिएको छ ।
सशस्त्र प्रहरीले सुनचाँदी कालिगढलाई पक्राउ गरी कुटपिट गरेको विरोधमा जनकपुरस्थित सुनचाँदी व्यवसायी सङ्घ र सुनचाँदी कालिगढ सङ्घले संयुक्त रूपमा सुनचाँदी बजार बन्द गराएका छन् ।
बुधबार साँझ भारततर्फ लैजाँदै गरेको अवस्थामा एकजनालाई २० किलो चाँदीसहित पक्राउ गरेपछि निजको बयानका आधारमा सशस्त्र प्रहरी उपरीक्षक रविन्द्र ठाकुरको कमाण्डमा खटेको प्रहरीले सुनचाँदी कालिगढ प्रदीप ठाकुरलाई पक्राउ गरी कुटपिट गरेका थिए ।
शशि साहको घरमा बस्दै आएका ठाकुरलाई नियन्त्रणमा लिएर उनीहरूले राति करिब ११ बजे कुटपिट गरेको बताइएको छ ।
प्रहरीले निजका भाइ सुनिल ठाकुरलाई समेत कुटिपट गरेका थिए । पक्राउ परेका व्यक्तिले ठाकुरलाई आफूले नचिनेको भनेपछि मात्रै प्रहरीले उनीहरूलाई छाडेको थियो ।
व्यापारीहरूले प्रहरीले अनावश्यक रूपमा आफूहरूलाई डर धाक देखाउने गरेकोले बजार बन्द गरेको बताएका छन् । उनीहरूले घटनाका दोषी प्रहरी उपरीक्षकलाई कारबाही हुनुपर्ने, सुनचाँदी व्यवसायीलाई भयमुक्त वातावरणमा काम गर्न दिनुपर्ने मागसहित बजार बन्द गरेको सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष अमरनाथ गुप्ताले जानकारी दिए ।
जनकपुर बजारमा १५० वटा सुनचाँदीका पसल रहेका छन् भने त्यसमा एक हजार कालिगढ कार्यरत रहेका छन् । सो बजारमा दैनिक रु ५० लाखको सुनचाँदीको कारोबार हुने गरेको छ । बजार बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन् ।
0 comments
Write Down Your Responses