साथीहरुको काखमा घार्ले छोराछोरी देख्दा डाह लाग्छ

२९ असोज, काठमाडौं । प्रियंका कार्की पछिल्लो समय चल्तीकी नायिका हुन् । कहिले उत्तेजक अन्तरवार्ता त कहिले भित्री बस्त्रका कारण उनी बेलाबेला विवादमा आउँछिन् ।
सय बढी म्युजिक भिडियो र दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी नायिका प्रियंका फिल्म मार्केटकी आशलाग्दी नायिका हुन् । नेपाली चलचित्र क्षेत्र र आफ्नो व्यक्तिगत जीवनबारे अनलाइनखबरसँग लामो कुरा गर्ने क्रममा नायिका प्रियंकाले नेपाली चलचित्रको भविश्य राम्रो रहेको बताइन् । तर, जसले पनि चलचित्र बनाउने गरेकाले राम्रा चलचित्र छायाँमा परेको उनको गुनासो छ ।
‘डाक्टर बन्न, पाइलट बन्न या अन्य कुनै पनि पेशामा सहभागी हुन निश्चित क्राइटेरिया पूरा गर्नुपर्छ भने फिल्ममा किन मापदण्ड नबनाउने ?’ प्रियंका भन्छिन्, ‘फिल्म बनाउनका लागि पनि निश्चित योग्यता तोक्नुपर्छ ।’
पहिले डबल, अहिले सिंगल
प्रियंका  अहिले सिंगल छिन् । थुप्रै केटा साथी छन् उनका । तर, आफ्नो मनले खाएको तन्नेरी अहिलेसम्म भेटेकी छैनन् । थुप्रै प्रेम प्रताव आउने गरे पनि मन नपरेका कारण पन्छाउँदै आएकी छिन् ।
खासमा उनको पहिलो घरबार बिग्रेको हो । तर, पनि गुनासो छैन । प्रियंका भन्छिन् ‘एक अर्कालाई मन पराएर बिहे गर्‍यौं, एक अर्काको कुरा चित्त नबुझेपछि छुटियौं ।’
बैबाहिक सम्बन्धलाई विच्छेद गरे पनि बेला बेलामा पूर्व श्रीमानसँग कुरा हुने गरेको उनले बताइन् । उनी भन्छिन्-‘हाम्रो अहिले पनि बेला बेलामा कुरा हुन्छ ।’
उनको सम्बन्ध बिच्छेद भएको कुरा प्रियंका अभिनयमा सक्रिय भएपछि मात्रै सार्वजनिक भएको थियो । सम्बन्ध बिच्छेदकै कुराले केही बिबाद समेत झेलेकी प्रियंका बिबाह र सम्बन्ध बिच्छेदका कुरा लुकाएर नलुक्ने धारणा राख्छिन् । ‘सम्बन्ध विच्छेद कुनै गर्वको विषय होइन, त्यसकारण मैले मेरो सम्बन्ध बिच्छेद भयो भनेर हल्ला गर्दै हिँडिन । पछि थाहा भयो । यसमाप्रियंकाले बेलैमा भनिन् भन्नुको तुक छैन ।’
नेपाली समाजमा कतिले बिबाहलाई खुसी र सन्तुष्टिका माध्यम बनाएका छन् । यसमा प्रियंकाको विमति छैन । तर, सुख पाइन्छ भनेर बिबाह गर्नु गलत हो भन्ने लाग्छ उनलाई । भन्छिन्-‘खुसी भएर बिबाह गर्ने हो, खुसी पाइन्छ भनेर होइन ।’
साथीका छोराछोरी देख्दा औडाहा हुन्छ
आफ्नै उमेरका कति साथीहरु काखमा घोर्ले छोराछोरी लिएर हिंडेको देख्दा प्रियंकालाई भित्रभित्रै डाहा लागेर आउँदोरहेछ । उनी भन्छिन्-‘मेरो पनि यस्तै भैदिए कति रमाइलो हुन्थ्यो होला भन्ने मनमा आउँछ ।’ अहिलेसम्म हितैषीका छोराछोरी सुम्सुम्याएरै चित्त बुझाएकी छिन् ।
बिबाह र सम्बन्ध भन्ने कुरा देखेरमात्रै सम्भव नहुने रहेछ भन्ने प्रियंकालाई लागेको छ-‘कुनै दिन मेरो जीवनमा पनि कुनै पुरुष ठोकिन त आउँछ होला नि ।’ खाइलाग्दो ज्यान र दुईचार दिनको नम्र व्यवहार देखाएकै भरमा कुनै तन्नेरीलाई ‘आइ लभ यु’ भन्ने पक्षमा छैनन् उनी ।
केटा साथीहरुलाई पहिल्यै भन्ने गरेकी रहिछन् ‘मसँग लभसभ गर्ने फुर्सद छैन है ।’ यसो भन्नुको अर्थ फुसर्द नै नभएर होइन, मन पर्ने केटा नभेटेर हो रे ।
प्रियंकालाई बिबाहविना पनि जीवन चलाउन सकिन्छ भन्ने लागेको छ । तर, यसको अर्थ बिबाहप्रति पूरै ‘नेगेटिभ’ होइन । बिबाहका लागि आफुले भनेजस्तै पुरुष भेटिनै पर्छ भन्ने उनको अनुभव छ । त्यस्तो पुरुषले हरेक कुरामा साथ देओस् भन्ने उनको चाहना छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.