ओसामा बिन लादेनलाई गोली हान्ने अमेरिकी कमान्डरको परिचय अब खुल्ने



वासिङटन : अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई गोली हान्ने अमेरिकी नेभी सिलका पूर्व कमान्डरको परिचय अब चाँडै खुल्ने भएको छ। उनले फक्स न्युज च्यानलमार्फत आफ्नो परिचय दिँदै छन्। अर्को महिना च्यानलको वृत्तचित्रमा उनले बिन लादेनविरुद्धको सैन्य अभियानबारे पूरै जानकारी दिनेछन्।

 'द म्यान हु किल्ड ओसामा बिन लादेन' नामको दुई घन्टाको वृत्तचित्र नोभेम्बर ११ र १२ मा देखाइनेछ। फक्स न्युजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, 'यस वृत्तचित्रको माध्यमबाट नेभी सिलले कसैले थाहा नपाएका नयाँ कुरा पनि साझा गर्दै छन्। कमान्डरले अमेरिकाको सबैभन्दा राम्रो सैन्य बलसँगको तालिमबारे जानकारी दिँदै छन्।'

लादेनविरुद्ध कारबाही सुरु गरेदेखि उनको अन्तिम साससम्मको सबै विषयलाई समातेर मेहनतसाथ वृत्तचित्र बनाइएको बताइएको छ। साधारणजसो नेभी सिलको अभियान खासै चर्चामा आउँदैन। यस्ता अभियानमा संलग्न सदस्यहरूको नाम पनि गोप्य राख्ने गरिएको छ। ती सदस्यहरू सेवामा होस् अथवा अवकाश प्राप्त होस्, खासै सञ्चारमाध्यममा ल्याइँदैन।

तर, सन् २०१२ मा फक्स न्युजले सिलका एक पूर्वसदस्य म्याट बिसोनेटको नाम उजागर गरेको थियो। उनले 'नो इजी डे : द फस्र्टह्यान्ड एकाउन्ट अफ द मिसन द्याट किल्ड ओसामा बिन लादेन' नामक किताब लेखेका थिए। त्यसपछि सबैको चासो लादेन मार्ने कमान्डरहरूप्रति गएको थियो।

सन् २०११ को मे महिनामा पाकिस्तानको एबटाबाद सहरमा भएको अमेरिकी सैन्य कारबाहीमा लादेनको मृत्यु भएको थियो। सीआईएले बिन लादेन रहेको घर पत्ता लगाएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले लादेनविरुद्ध सैन्य कारबाही गर्न आदेश दिएका थिए।

यो कारबाही आफूलाई जानकारी नदिई भएको भन्दै पाकिस्तान रुष्ट भएको थियो। अहिले पनि यसै विषयलाई लिएर पाकिस्तान र अमेरिकाबीच विवाद पनि हुने गरेको छ। पाकिस्तान तालिवान र अलकायदालगायतका आतंककारी संगठनको आश्रयस्थल बनेको भन्दै अमेरिकाको सैन्य कारबाही जारी छ।

पाकिस्तानले आफ्नो भूमिमाथि निरन्तर रूपमा भइरहेको आक्रमण रोक्न अमेरिकासँग आग्रह गरेको छ। पाकिस्तानी आकाशबाट अमेरिकी सेनाको मानवरहित विमानले गरेको हमलाका कारण आतंककारी मात्र नभई सर्वसाधारणको पनि ज्यान जाने गरेकाले सो आक्रमण तत्कालै रोक्न आग्रह गरिएको छ।

जातीय द्वन्द्व भइरहेको उत्तरी पाकिस्तानमा दिनहुँजसो अमेरिकी हवाईआक्रमण भइरहेको छ। - एएफपी


annapurnapost.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.