राजधानीमा ८ अर्बको १७ तला पाँचतारे होटल ..बन्दै

काठमाडौं-एमआईटी ग्रुप होल्डिङसको आठ अर्ब लगानीमा राजधानीमा पाँचतारे शेराटन काठमाडौं होटल निर्माण हुने भएको छ। होटलको शिलन्यास प्रधानमन्त्री सुशील कोइरालाले शनिबार गर्नेछन्। कम्पनीद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पाँच तारे लक्जरियस होटल २०१८ फेब्रुअरीमा संचालनमा आउनेछ।
एमआईटी ग्रुप होल्डिङसको आठ अर्ब लगानीमा राजधानीमा निर्माण हुन लागेको पाँचतारे शेराटन काठमाडौं होटलको नमुना।
काठमाडौंको कान्तिपथस्थित केशरमहलमा रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ।
‘होटलको डिजाइन र नक्सा पास भइसकेको छ। शिलन्याश लगतै निर्माण सुरु हुनेछ,' कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भने, ‘अन्तर्राष्ट्रिय चेन होटल ल्याएर मुलुकको पर्यटन क्षेत्रको विकासमा लाग्न पाउँदा अत्यन्तै खुशी महशुस गरेको छु।'

निर्माण हुन लागेको नयाँ होटलबारे जानकारी दिँदै कम्पनीका समूह प्रमुख कार्यकारी अधिकृत तथा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले। तस्बिर : दिपेश श्रेष्ठ


होटलमा सत प्रतिशत बैदेशिक (अष्ट्रेलियन) लगानी रहने छ। होटलको प्रर्बद्धक अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस रहेको छ भने व्यबस्थापन तथा संचालन सिंगापुरको स्टारवुड ग्रुपले गर्ने छ। स्टारबुड होटल र रिर्सोट वल्डवाइड इंकले संचालन गर्ने विभिन्न ब्रान्डमध्ये शेराटन पनि एक हो। शेराटन ब्रान्डमा विश्वका करिव ७० मुलुकमा चार सय होटल संचालनमा छन्। स्टारबुडले शेराटनवाहेक द लक्जरी कलेक्सन, ली मेरिडिन लगायत ब्रान्डमा विश्वका झन्डै एक सय मुलुकमा होटल संचालन गरेको छ।
कम्पनीका अनुसार १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लवीसहित १३ वटा तलामा गेष्टरुम हुनेछन्। होटलमा २ सय १८ वटा गेष्टरुम र सुइट रहने छन्। हेल्थ क्लव, स्पा, वातानुकुलित स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुबिधा उपलब्ध हुने घलेले बताए। ‘होटलभित्रै रिटेल सपिङ सुबिधा हुने छ भने स्थानीय र अन्तरराष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ,' उनले भने।

बिबाह तथा सभा समारोहका लागि करिव एक हजार सिट क्षमताको सभाकक्ष हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार काठमाण्डौमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ। यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि कम्पनीले जनायो। घलेले भवन निर्माणमा समेत विशेष ध्यान दिइएको बताउँदै भवन सुरक्षित र बलियो बनाउन विश्वमा आएको पछिल्लो प्रविधि अपनाइने जानकारी दिए।
‘भवनको निर्माण आधुनिक ‘पोष्ट टेन्सन्ड कंक्रिट' बिधिमार्फत् गरिने छ,' घलेले भने, ‘यो काठमाण्डौमा पहिलोपटक प्रयोग गर्न लागिएको हो। यसले भवनलाई बलियो र सुरक्षित बनाउने छ।'

उनले होटल निर्माणका क्रममा करिव ५० हजारले प्रत्यक्ष रोजगारी पाउने बताउँदै होटल संचालनपछि ४ सय ५० जना दक्ष जनशक्तिले रोजगारी पाउने जानकारी दिए।

उनले शेराटनले भारत र चीनमा समेत व्यापक विस्तार गरिरहेको बताउँदै त्यसको फाइदा नेपाललाई पनि हुने बताए।
‘शेराटनले भारत र चीनमा आफ्ना होटलको विस्तार गरिरहेको छ, घलेले भने, ‘त्यसको फाइदा हामीलाई पनि हुनसक्छ भन्ने विश्वासमा छौ।' उनले होटलमा गरेको लगानी १५ वर्षभित्र फिर्ता हुने विश्वास लिएको बताए।
‘हामीले होटलको पे ब्याक पिरियड १५ वर्षको लिएका छौ। हामीले यति ठूलो लगानी गर्नुको पछाडी मुलुकको आर्थिक विकास होला र गुणस्तरीय पर्यटक आउलान भन्ने पनि हो,' उनले भने, ‘त्यही मान्यताका साथ हामीले लगानी गरिरहेका छौ।'

उनले सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल संचालन गर्ने लक्ष्य लिइएको जानकारी दिए। कम्पनीले होटलको लागि सन् २००८ मा जग्गा किनेको थियो।

अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक बिकाशमा समेत महत्वपूर्ण उपलब्धि भएको समेत घलेले बताए। ‘मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी भएकाले नेपालको पर्यटन उद्योगको बिकाशमा दूरगामी प्रभाव पार्ने हाम्रो बिश्वास छ,' उनले भने, ‘ यसले नेपालमा प्रत्यक्ष बैदेशिक लगानीमा ठूला परियोजना सुरु गर्न प्रोत्साहन मिल्ने छ भने शेराटनजस्तै अन्तराष्ट्रिय चेन होटललाई नेपाल आउन हौसला मिल्ने छ।'

उनले सेराटन होटल र यसको संजालमार्फत् नेपालको पर्यटन उद्योगको प्रर्बद्धन हुने र नेपालमा स्तरीय पर्यटकको आगमन बृद्धि हुने विश्वास लिएको बताए।

नेपालमा शेराटन भित्र्याउने एमआईटी ग्रुप घले र उनकी श्रीमती जमुना गुरुङद्वारा प्रर्बद्धित अष्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको ‘एमआईटी ग्रुप होल्डिङ्स'ले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ। एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी' कलेज संचालन गरिरहेको छ जहाँ करिव ३ हजारभन्दा धेरै अन्तराष्ट्रिय बिद्यार्थी अध्ययनरत छन्। यो समूहले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.