त्यो कथा एउटी राम्री केटीको कारणले लेखिया’ थियो

अशोक सिलवाल
दिन याद भएन । एक मध्यान्ह हाम्रो भेट भयो कतै । अनाम स्थानमा हामीले धेरै कुरा ग¥यौं । अति अनौपचारिक र निजी कुरा पनि भए । ती प्रिय स्मृतिमा छन् । त्यसो त उनीसँगका प्रत्येक भेट स्मरणीय लाग्छन् ।
तिनको खाता खोल्दिन म यहाँ । कुरै कुरामा कुरो पुस्तक सम्पादनमा आइपुग्यो । उनले भने, ‘पुस्तक सम्पादन राम्रो कुरा हो । तर, सम्पादन गर्ने मान्छे राम्रो हुनु पर्छ । यद्यपि अहिलेसम्म सम्पादन गराएको छैन ।’
मैले साथीभाइसँग भन्ने गरेको कुरा के भने, सम्पादक आवश्यक छ । तर, सम्पादक वास्तवमै सम्पादनलायक हुनु पर्छ । फलानो पुस्तकको त सम्पादकै छैन भनिन्छ । किन हुँदैन, लेखक नै त्यो पुस्तकको सम्पादक हो नि ।
यो कुरामा उनले ठूलै स्वरमा सही थापे, ‘हो त ।’
मेरो अर्को प्रश्न वा सन्दर्भ यस्तो थियो, सम्पादकले सम्पादन गर्न सकेको छ कि छैन त्यो अलग कुरा हो । तर, ‘तिम्रो जति राम्रो सम्पादन अर्कोले गर्ने सक्दैन, तिम्रो पुस्तकको’, भन्थें म । त्यसकारण तपार्ईंं वा कसैले ‘सम्पादन गरेको छैन वा सम्पादन गराएका छैन’ भन्नु हुन्छ नि, त्यो गलत हो ।
उनले आफ्ना पुस्तक किन सम्पादन गराएका छैनन् भन्ने प्रश्नको उत्तर ‘किन’मा छ । भन्दै थिए, ‘हो, ‘सम्पादन गराएका छन् कतिले । त्यो पनि रामै्र कुरा हो । म किन गराउँदिन भने मलाई आफ्नो लेखनमा आत्मविश्वास छ । आत्मविश्वास हुन्जेल किन अरुलाई सम्पादन गराउने ? म पनि शिक्षकै हो । भाषा विज्ञानको विद्यार्थी पनि भएकै हुँ ।’
तर, उनले यो पनि भने, ‘कुनै योग्य मान्छे पाए सम्पादन गराउँछु ।’
मैले थपें, ‘जान्ने र पुस्तक बुझ्ने ।’
‘पुस्तक बुझ्ने पाउन नै गाह्रो छ । सम्पादन नराम्रो होइन । तर, … ’, उनी अड्किए की मैले उनलाई अड्काएँ ? त्यसपछि प्रसँग महाकवि लक्ष्मीप्रसाद देवकोटातिर तानें मैले । अब फेरि प्रश्नोत्तर ।

‘देवकोटाका कृतिलाई सम्पादन गरेर निकालेको भए कति राम्रो हुन्थ्यो’, कतिले भनेको सुनेको छु । त्यो ठिक पनि होला । तर, देवकोटालाई सम्पादन कसले गर्ने ?
त्यही त । के भएछ भने, जर्ज बनार्ड शाले आफूलाई रोयल्टी दिइएन भनेर प्रकाशकलाई चिठी लेखे । प्रकाशकले अझ कडा शब्द लेखेर पठाइदिए । उनले फेरि झन् रिसाएर लेखे । प्रकाशकको त बनार्ड शाका त्यस्तै–त्यस्तै चिठी बटुलेर पुस्तक प्रकाशन गर्ने दाउ रहेछ । उनको गाली नै प्रकाशकको लागि ‘लाख’ भयो । अझ गाली गरेर चिठी लेखोस् भन्ने ऊ चाहने रहेछ । बनार्ड शलाई यो कुरा पछि मात्र थाहा भयो रे ।
त्यसकारण के हुन्छ भने, देवकोटाको जे आएको छ, स्वाभाविक आएको छ । त्यो स्वाभाविकतालाई हटाएर बढी कलात्मक बनाउनेतिर लाग्यो भने, स्वभाविकता त नष्ट हुन्छ नै, कला पनि मर्छ ।
लेखक आफै सम्पादक पनि हो तर लेखकले आफ्नो पुस्तकको सम्पादन गर्दा कस्तो सम्पादन गर्छ ? त्यो महत्वपूर्ण हो ।
हो, तर पुरै सम्पादन गर्ने भन्ने पनि हुँदैन । मौलिक टोनलाई पनि मार्न भएन । अनौपचारिकता जुन आउँछ, त्यो रहनु पर्छ ।
अर्को एउटा प्रसंग बताउँछु । शीर्षक याद छैन । त्यो पनि रिक्सावालाकै कुरा हो । एउटा मान्छे राति बाह्र–एक बजे रक्सी खाएर निस्कन्छ । रिक्सावाला सय रुपियाँको लागि त्यही मान्छे कुरिरहन्छ । घर पु¥याएवापत उसले सय रुपियाँ पाउँछ । यो कुनै जमानाको कुरा हो । त्यसबखत सय रुपियाँ भनेको धेरै हो ।
कहाँ ?
काठमाडौंको कुनै ठाउँमा । उसको कमाइ निश्चित छ, सय रुपियाँ । जहाँ भए पनि ऊ राति त्यहीँ पुग्छ । रक्सीले टिल्ल भएर बाह्र–एक बजे त्यो मान्छे निस्कन्छ अनि सय रुपियाँ दिन्छ ।
यसको चरम कहाँ छ भने, एक दिन त्यो मान्छे त्यो रिक्सामा दिउँसो भेट हुन्छ तर रिक्सावालालाई चिन्दैन । रिक्सावालले आफूलाई चिनोस् जस्तो गर्छ । तर, ठ्याम्मै चिन्दैन । उसले रिक्सावाललाई रक्सी खाएको बेला मात्र चिन्छ र ‘मैले सय रुपैंया दिनु छ’ भन्ने उसलाई थाहा हुन्छ ।
यस्ता पात्रहरू थुप्रै छन् ।
निम्न र निम्न मध्यमवर्गीय छन् तपाईंंका थुपै्र पात्रहरू । जो पाठकको मनमा बाँचेका छन् ।
हो । तिनै बाँचेका छन्, धेरै ।
अनि तपाईंंलाई बचाएका छन् ।
मेरा लेखनमा निम्न वा निम्न मध्यमवर्गीय धेरै छन्, अभिजात कमै । ती पात्रसँग केटाकेटीदेखि संगत पनि गरिया’ छ, । मेरो बाल्यकाल त्यस्तै वा त्यस्तै–त्यस्तै पात्रहरूसँग बितेको छ । पियन, मिस्त्री आदि मेरा संगतका पात्रहरू हुन् ।
तपार्ईंंलाई आफ्नो लेखनको पहिलो पात्र सम्झना छ ?
२०२० सालदेखि रुपरेखामा मेरा कथा छापिन थालेको हो । २०१८ सालमै लेखिएको एउटा कथा ‘सानो शहरमा विमला’ अलिकति परिमार्जन गरेर पछि छपाएँ । यद्यपि त्यो पहिलो नभए पनि प्रारम्भिक कथा हो । त्यहाँ दुई मुख्य पात्र छन् ।
दुवै महिला ?
हो ।
ती एकादेशका पात्र थिएनन् ।
थिएनन् । जीवित र आफ्नो नजरमा परेका पात्र थिए ।
ती पात्र कस्ता थिए ?cover of lekhak duniya
ती पुरा युवती थिए । मेरा एकजना मित्र तीमध्ये एउटीसँग विवाह गर्न चाहन्थे । एउटी राम्री थिई भने अर्की नराम्री । ती सँगै थिए । कौशीमा बस्थे । जो नराम्री थिई, मेरो उसँग साधारण बोलचाल थियो । ऊ पुरानो बासिन्दा थिई । राम्री चाहिं बाहिरबाट आएकी थिई । उसँग चाहिं बोलचाल थिएन । उसँग म कहिल्यै बोलिन ।
त्यो कथा राम्री केटीको कारणले लेखिया’ थियो ?
हो । राम्री केटीको कारणले लेखिया’ हो । तर, साथमा नराम्री केटी पनि त्यहाँ राखिएको छ ।
साथीले मन पराएको थियो र बिहे गर्न चाहन्थ्यो । त्यसकारणले त त्यो लेखिएको थिएन ?
कथामा त्यो प्रसंग छैन । त्यो प्रसंग मेरो अनुभवन्यासमा चाही छ । त्यो केटी जसलाई मैले विमला नाम दिएको छु, उसलाई हेर्न मान्छे त्यो बाटो हिंड्न थाले । त्यहाँ भीड लाग्न थाल्यो । बजारै लाग्न थाल्यो । जे होस्, ती दुई पात्र थिए, जसलाई मैले सम्झें । सानो शहर थियो तर त्यो विमलाकै लागि उल्र्यो ।
सुन्दरताकी प्रतीक विमला थिई ।
हो ।
प्रारम्भिक पात्र ।
पहिले लेखिएको भएर विमला र उसकी साथी आए यो अन्तर्वातामा । मलाई याद भएका प्रारम्भिक पात्र यिनै हुन् ।
यी दुई पात्र वास्तविक पनि थिए । तपार्ईंंको पनि उमेर थियो । उनीहहरू पनि उमेरका थिए । त्यो मनोविज्ञानले पनि काम गरेको थियो होला ।
हो । त्यो, जो मेरो साथी थियो, उप्रति पनि केटी केही आकर्षित थिई । एक पटक भेट्ने कुरा भएछ, उनीहरूको । म पनि सँगै गएको थिएँ ।
तपाईंंले चाहिं कालीलाई भेट्नु भयो ?
काली त आउँदै आइन नि । काली मात्र होइन, गोरी पनि आइन । हामी त कुरेको कु¥यै भयौं । हा हा हा …
ती केटीहरूलाई पात्र बनाएर कथा लेख्ने तहसम्म कसरी पुग्नु भयो ?
त्यो केटी राम्री थिई । राम्रीभन्दा पनि बढी चर्चित । साथीको कुरा त मलाई पो थाहा थियो । राम्री केटी आई शहरमा भनेर जसले पनि चर्चा गर्ने भयो । त्यो चर्चाले कथा लेखाएको हो ।
घटना वीरगन्जको हो ?
हो । तर, अहिले ती दुवै त्यहाँ छैनन् ।
काली र गोरी ?
कथामा कालीको पनि भुमिका महत्वपूर्ण छ ।
काली भएर त गोरीको महत्व भयो । सापेक्षताको सिद्धान्त ।
कुरा त्यति मात्र होइन । जवान त काली पनि थिई नि ।
वैशमा स्याल पनि घोर्ले हुन्छ ।
हो ।
काली चाहिं सुन थिई भने गोरी चाहिं सुनमा सुगन्ध थिई र शहरभरि मगमगाइरहेकी थिई । जगमगाइरहेकी थिई ।
सुनमा सुगन्ध के भन्नु । त्यो सुन थिई । यो चाँदी थिई । फलाम थिई । के थिई ? छोडदिउँ । यति भनौं, दुवै युवती थिए ।
दुवैसँग यौवन थियो ।
यौवन दुवैसँग थियो । तर, रुप एउटीसँग थियो ।
शहरको नजरमा ।
सिङ्गै शहरको नजरमा । तर, त्यो पात्रलाई मैले लेखें ।
त्यो काली पात्रमाथि भयंकर सहानुभुति प्रकट गरेर लेखिएको थियो ?
सायद । हेर्नुपर्छ ।
(शुक्रबार भृकुटीमन्डपमा सार्वजनिक अशोक सिलवालकृत ‘लेखक दुनियाँ, आख्यान पुरुष धु्रवचन्द्र गौतमसँग अन्तरंग’को एक अंश)

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.