खुट्टा नभए पनि पौडी खेलेर देशको नाम राख्ने चाहना !!

एजेन्सी/ कियान होन्ग्यान नाम गरेकी चिनियाँ बालिकाका दुवै खुट्टा छैनन् । तर, उनी पौडी खेलेर देशको नाम राख्न चाहन्छिन् ।

सन् २००० मा तीन वर्षकी छँदा सवारी दुर्घटनामा परी नराम्रोसँग घाइते भएकी उनी अस्पताल भर्ना भएकी थिइन् । डाक्टरहरूले झन्डै कम्मरसम्म दुवै खुट्टा काटेर उनलाई बचाएका थिए । तिघ्रासम्म सबै काटेर फ्याँके पनि हिँड्डुल गर्न र विद्यालय जान उनलाई कसैको सहारा चाहिँदैन ।

बास्केटबलको ठोक्रो कम्मरमुनि राखेर कम्मरको कोमल मासुलाई ढुंगा आदिबाट जोगाउँदै उनी हातमा काठको टुक्रा बोकेर त्यसैको सहाराले हिँड्डुल गर्ने गर्छिन् । उनी यसरी हिँडेको देख्नेहरूले दयाको दृष्टिले भावुक भएर उनलाई हेर्ने गर्छन् । तर, कियना स्वयंचाहिँ सधैं हँसिलो मुद्रामा हुन्छिन् ।

उनीसम्बन्धी समाचार चिनियाँ सञ्चारमाध्यममा प्रकाशित भएपछि अपांगता भएका व्यक्तिलाई सहयोग गर्ने संघसंस्थाले उनलाई सहयोग गर्न खोजेका थिए । बास्केटबलमा कम्मर राखेर हिँड्न गाह्रो भयो होला भन्ने सोचेर उनलाई वैसाखी र कृत्रिम खुट्टा दिए । तर, उनी बास्केटबल र काठको टुक्रामै हिँड्न सजिलो लाग्ने बताउँछिन् ।

पौडी खेल्न असाध्यै चाख राख्छिन्, उनी । खुट्टा नभए पनि उनी दुई हजार मिटर दूरी पौडिएर पार गर्न सक्छिन् । अन्तर्राष्ट्रिय पौडी प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने उनको सपना छ । ‘उनको पढाइ राम्रो छ, पौडीमा पनि उत्तिकै दख्खल राख्छिन्,’ कियानका कोच भन्छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.