फिफाले बिमलको प्रसंसा गर्दै आफ्नो वेब साइटमा लेख्यो ,महादेशका उदाउँदो उज्ज्वल तारा !!

असोज ७ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले आफ्नो अनलाइन संस्करणमा नेपालका स्टाइकर विमल घर्ती मगरलाई विलक्षण क्षमता भएको खेलाडी भन्दै प्रशंसा गरेको छ ।
फिफाको अनलाइनमा विमलको अन्तरवार्तामा आधारित विश्लेषण प्रकाशित छ ।
विमल सम्बन्धी लेखमा फिफाले विमललाई नेपाली टिमको विलक्षण खेल कौशल भएको प्रतिभावान खेलाडीका रुपमा चित्रित गरेको छ ।
फिफाले विमल सम्बन्धी लेखको सुरुवात नै विमलको स्टारडमको प्रशंगबाट गरेको छ ‘भर्खरै सम्पन्न १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा सहभागी देशका अधिकांश खेलाडीहरु आफ्नो पहिचान बनाउन खेलिरहेका बेला विमल भने पहिले नै एक स्थापित नाम थियो ।’
बेल्जियमको क्लब एन्डरलेक्टको १९ वर्ष मुनिको टोलीबाट व्यवसायिक खेल खेल्ने विमलले एएफसी च्याम्पियनसिप प्रतियोगिताअघि नै महत्वपूर्ण अन्तराष्ट्रिय प्रतियोगिताको अनुभव बटुलेका खेलाडी भन्दै पिफाले विमलको प्रशंसा गरेको छ । फिफाले विमल सम्बन्धी लेखमा १६ वर्षको कलिलो उमेरमा नै उनले नेपालका सबै उमेर समूह र राष्ट्रिय टिमको हिस्सा बनेको प्रसंग उल्लेख छ । विमलले राष्ट्रिय टिममा डेब्यू गरेको खेलमा नै महत्वपूर्ण गोल गरेका थिए ।
उनले सन् २०१३ को सप्टेम्बरमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले त्यो खेलमा अन्तिम मिनेटमा एक गोल गरेको र त्यही गोलको मद्दतमा नेपाल पाकिस्तानलाई बराबरीमा रोक्न सफल भएको उल्लेख गर्दै फिफाले विमलको खेल क्षमताको प्रशंसा गरेको छ ।
फिफासँगको अन्तरवार्तामा विमलले पाकिस्तान विरुद्धको गोल बारे भनेका छन् ‘मलाई त्यो मेरो पहिलो अन्तराष्ट्रिय गोल गर्दा यो सपना पो हो कि जस्तो लागेको थियो । मैले बारम्बर आफैसँग सोधेँ के मैले साँच्चिकै गोल गरेकै हो त ? म मैदान प्रवेश गर्दा हाम्रो टिम अप्ठ्यारोमा थियो । तर म आफ्नो डेब्यू खेलमा गोल गर्दै टिमलाई सहज अवस्थामा ल्याउन चाहान्थें । मैले प्रहार गरेको बलले गोल रक्षकलाई पन्छ्याउँदै जालि चुमेको त्यो क्षण ऐतिहासिक थियो ।’ फिफाले लेखमा विमलको त्यो गोललाई एक ऐतिहासिक गोल भनेर उल्लेख गरेको छ । मात्र १५ वर्ष ८ महिना ८ दिनको उमेरमा ऐतिहासिक अन्तराष्ट्रिय गोल गर्दै विमल नेपालको कम उमेरमा अन्तराष्ट्रिय गोल गर्ने खेलाडी बने ।
विमलले फिफासँगको अन्तरवार्तामा गोल गरेपछिको अनुभव बारेमा भनेका छन् ‘स्टेडियममा रहेका सबै दर्शकहरुले मेरो नाम लिएर हुटिङ गरिरहेका थिए । त्यसमा पनि भोली पल्टको दिन झन सम्झन लायक थियो । हरेक संचार माध्यम र पत्रपत्रिकाहरु मेरो नाम र तस्विरले भरिएका थिए जुन मेरा लागि ठूलो उपलब्धि थियो ।’

महादेशका उदाउँदो उज्ज्वल तारा

पिफाले विमललाई उनको खेल कौशलका आधारमा महादेशीय स्तरमा उज्ज्वल भविष्य भएको खेलाडीका रुपमा चित्रित गरेको छ । १६ वर्ष मुनिको एएफसी छनोट खेलमा विमलले आफ्नो कप्तानीमा गरेको प्रदर्शलाई पनि फिफाले उल्लेख गरेको छ । 
विमलले फिफासँग भनेका छन् ‘काठमाडौंमा भएको छनोट चरणको बहराइनसँगको पहिलो खेलमा म केही नर्भस थिँए, तर दोस्रो खेलसम्ममा मैले आत्मविश्वास बटुलेको थिएँ ।’ छनोट खेलमा नेपाल बहराइनसँग २–० ले पराजित भएको थियो भने इराक लाई २–२ मा रोकेको थियो र तुकिमेनिस्तानलाई ४–० ले पराजित गरेको थियो । विमल प्रतियोगिताका सर्वाधिक गोलकर्ता पनि हुन् । फिफाले हालै भएको १६ वर्षमुनिको एएफसी च्याम्पियनसिपमा नेपालको प्रदर्शन प्रभावशाली भन्दै नेपाली टिमलाई ब्ल्याक हर्सको रुपमा चित्रित गरेको छ । नेपाल समूह चरणबाट माथि जना नसके पनि प्रतियोगितामा प्रभाकारी प्रदर्शनको श्रृंखला भने जारी राखेको फिफाले उल्लेख गरेको छ ।
फिफाले विमाल बारे लेखमा भनेको छ ‘प्रतियोगितमा सहभागि भएका एसियाली राष्ट्रका खेलाडीहरुमा विमल सबैभन्दा खेल कौशलमा माथिल्लो स्तरको खेलाडी हुन् । उम्दा खेलाडी भएकाले उनले अन्तराष्ट्रिय स्तरमा स्थापित हुन खोज्नु स्वाभाविक हो ।’
फिफासँगको अन्तरवार्तामा विमलले आफु व्यवसायीक खेलाडी बन्न चाहेको बताएका छन् । उनले भनेका छन्  ‘मेरो लक्ष्य भनेको व्यवसायीक खेलाडीक बनेर युरोपामा खेल्ने हो । म आफुलाई युरोपमा एउटा राम्रो खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु , यसले अरु नेपाली खेलाडीलाई पनि अवसर प्रदान गर्न सहयोगी बन्ने आश लिएको छु ।’
फिफा डटकममा प्रकाशित समाचारको आधारमा तयार पारिएको

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.