सरकारलाई नटेर्ने ट्रिपर व्यवसायीको यस्तो दादागिरी
काठमाडौं, भदौ १३ - सरकारले क्रसर उद्योगमा नयाँ मापदण्ड लागू गरेपछि आफ्ना ट्रक र ट्रिपरले काम नपाएको भन्दै ट्रिपर व्यवसायीहरुले शुक्रबार बिहान कोटेश्वर र तीनकुनेमा सडक नै कब्जा गरेर गाडी चल्न दिएनन् ।
डेढ महिनादेखि आन्दोलन गर्दै आएका ट्रिपर व्यवसायीहरुले सडक कब्जा गरेर काठमाडौको सवारी आवागमन अस्तव्यस्त बनाएका छन् । व्यवसायीहरुले तीनकुने र कोटेश्वारको सकडमा ट्रिपर तेर्स्याइर गरेको अवरोधका कारण बानेश्वर, सिनामंगल, ग्वार्को लगायतका क्षेत्रमा समेत गाडीको जाम भयो ।
आफ्ना माग पूरा गराउने नाममा व्यवसायीहरुले सडक कब्जा गरेर सास्ती दिएकामा सर्वसाधारणले आक्रोश पोखेका छन् । व्यवसायीहरुले विहान ९ बजे कोटेश्वर चोक र तीनकुनेमा तिनैतिर पूरै सडक ढाक्ने गरी ट्रक र ट्रिपर राख्दा त्यसको मार सर्वसाधारणले भोग्नुपर्यो । एम्बुलेन्स समेत जाममा फसेका थिए । ट्रिपर व्यवसायीहरुले ट्रक र ट्रिपर राखेर सवारी आवागमन अस्तव्यस्त पारेको दुई घण्टापछि प्रहरी क्रेनसहित तीनकुनेमा पुगेको थियो । प्रहरीले दुई घण्टाको प्रयासपछि सडकको बीचमा तेस्र्याइएका ट्रक र ट्रिपर हटाएर सडक खाली गरेर गाडी चलाएको थियो । अस्तव्यस्त सवारी आवागमन खुलाउने क्रममा प्रहरीले केहि ट्रक र ट्रिपर चालक तथा व्यवसायीलाई पक्राउ गरेको छ । क्रेन लगाएर ट्रक र ट्रिपर हटाएको विरोधमा नाराबाजी गरी ढुंगा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रदर्शनकारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले ट्रिपर व्यवसायीहरुको अस्थायी शिविर भत्काइदिएको छ । व्यवसायीहरुले चालक र सहचालकलाई केहिदिन यता तीनकुनेमा शिविर बनाएर त्यहि नै खानाको व्यवस्था गर्दै आएका थिए । गएको असार १ गतेदेखि नयाँ मापदण्ड लागू गरेको थियो । यो मापदण्डमा राजमार्ग र खोला किनारबाट ५ सय मिटर टाढा मात्र क्रशर उद्योग खोल्न पाइन्छ । यस्तै हाइटेन्सन लाइनबाट १ सय मिटर टाढा, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थानका साथै सुरक्षा निकाय, बन, निकुञ्ज र घनाबस्ती भएको ठाउँबाट २ किलोमिटर टाढा मात्र क्रसर तथा खानी उद्योग खोल्न पाइने छ । यी मापदण्ड पुरा नगर्ने उद्योग बन्द भएपछि ट्रिपर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
साभार उज्यालोअनलाइन
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
0 comments
Write Down Your Responses