हाम्रा पनि आशुका ग्रन्थी छन्ः दुःख पर्दा ती पनि चुहिन्छन् तिमी नारी किन यति हठी ?
नारी भएर जन्मनु सँधै घाटाको कुरा मात्रै नहुन सक्छ । नारीले जन्मसँगै केही सहुलियत पनि पाएकी छे जसले उसलाई पुरुष भन्दा पनि केही बलियो बनाएको छ ।
नारी सौन्दर्य पनि ती सहुलियत मध्येको एक हो । मलाई पुरुषको कुन चाहीँ कुरा नारीलाई सुन्दर लाग्छ भन्ने थाहा छैन ।तर नारीको हरेक कुरा पुरुषलाई सुन्दर लाग्छ । जस्तै कुरुप नारी भएपनि ऊ नारी हुनु नै सुन्दर हुन्छ । एक पटक हाम्रा केही साथीहरु एक होटलमा काम गर्ने काली केटीका पछि लागेका थिए, जो देख्नमा कत्ति राम्री थिइन । तर पनि उनीहरुले उसमा खै के देखेका थिए ! उसलाई रिझाउनका लागि मरिहत्ते गरेर लागिरहेका हुन्थे ।
जेडी स्यालिंगरद्वारा रचित सुप्रसिद्ध उपन्यास ‘द क्याचर इन द राइ’ को प्रमुख पात्र होल्डेन काउलीफिल्डले भनेका छन्ः“द्याट्स द थिंग अबाउट गल्र्स । एव्रीटाइम दे डु समथिं प्रीटी, इभन इफ दे आ’नट मच टु लुक एयाट, ओ’ इभन इफ देआ’ सर्ट अफ स्ट्युपिड, यू फल हाफ इन लव वीथ देम, एण्ड देन यू नेभ’ नो ह्वे द हेल यु आ’ (केटीहरुको बारेमो त्यही कुरा हो । हरेकपटक तिनीहरुले केही सुन्दर गर्छन्, उनीहरु देख्नमा सुन्दर नभएपनि वा उनीहरुले कुनै मुर्खतापूर्ण काम गरेपनि तिमी उनीहरुप्रति आधा प्रेममा पर्छौ र त्यसपछि तिमी यो पनि भुल्न पुग्छौ कि तिमी कहाँ छौ )।” यीनै कुराहरुले मलाई विश्वास गर्न मन लाग्छ कि नारी हुनु नै सुन्दर हुनु हो । तर सायद धेरै कम नारीले यो कुरा बुझेका छन् । उनीहरु अझै पनि आइलाइनर र कसिला पोसाकले उनीहरुको सुन्दरता वृद्धि गर्छ भन्ने सोच्छन् ।
पुरुषलाई सानै देखि भावुकताबाट टाढा राखिन्छ । भावुक हुनु नारीको गुण मानिन्छ । पुरुषलाई सानै देखि कठोर हुने तालिम दिइन्छ । मानौ अगाडिको जीवनमा उसको भावुकताको कुनै काम छैन । उसको नियती भनेको संवेदनहीन जीवन गुजार्नु हो । वालकले आमासँग धेरै समय विताउँछ । अनि आमा स्वयं नारी भएर पनि आफ्नो छोरोलाई कठोर हृदयी बनाउन तत्पर हुन्छिन् । पछि उनकै बुहारी (?!) (छोराकी प्रेमीका) हरु उनको छोरोसँग ‘तिमी किन यति कठोर भन त ?’ भनेर प्रश्नहरु तेस्र्याउलान् भन्ने कुरा के आमाहरुलाई ज्ञात हुँदैन र ? सानो छँदा चोटपटक लाग्दा पनि “केटा मान्छेलाई केही हुँदैन” भनिन्छ । रुनु भनेको आइमाइ हुनु हो त्यसैले रुनु हुँदैन भन्ने तालिम दिइन्छ । उसले सानै देखि आफ्ना आँशुहरु पिउन जान्दछ । उसका आँशुहरु आँखाबाट बाहिर नभएर भित्र बहन्छन् । अनि थुकसँगै मिसिएर घुट्कीँदै उदरसम्म पुग्छन् । ती आँशुहरु त्यस्तै नियती लिएर आएका हुन्छन् । त्यसैले त नारी हरु रुँदा पुरुषहरु थुक निल्छन् । त्यो तिनले प्रतिपादन गरेको रुने नयाँ तरिका हो(?!) । तर नारी हुनु केही सहुलियत पाउनु पनि हुन्छ । उसले कमसे कम आफुलाई चोट परेको बेलामा आँशु झारेर त्यसको अभिव्यक्ति दिन सक्छे । उसका आँशुमा कस्तो ताकत छ भने, ती आँशुको भरमा जस्ता सुकै पहलवान पनि हायल कायल हुन्छन् । भन्छन् नारीका आँशुले युद्धका लागि उठेका तरवारमा समेत खिया लगाउने ताकत बोकेको हुन्छ रे !
एउटा वास्तिविक घटना बताउँछु । कुरा के भयो भने परीक्षाको बेला एक जना शिक्षकले एउटी केटीको चीट पकडेछन् । उनले त्यो केटीको कापी खोसेर लगिदिए । सायद केही कडा वा इमान्दार थिए होला र त जाबो चीट चोरेकै निहुमा पनि कापी खोस्न भ्याए । नभए आजभोलि निरिक्षक आउँदा बाहेक परीक्षा भवनमा चीट चोर्ने छुट दिइएको हुन्छ । एक पटम मैलाई पनि गार्ड भएको बेला केन्द्राध्यक्षले परिक्षा खुकुलो बनाइदिन आग्रह गरेका थिए । मैले विद्यार्थीहरुलाई भनें ः“सक्छौ भने मलाई नदेखाइ सार ! मैले देखें भने विना बहस मेरा हातमा बुझाउनु । नभए मैले विकल्प सोच्न बाध्य हुनुपर्नेछ ।” सबैले भनेको माने । कतिले सारी सकेका कागज दिए । कतिको सार्दै गर्दाका कागज समातेँ । आधा बोरा भए होलान ती किताब कापीहरु । पुरुस्कार स्वरुप दोश्रो दिनदेखि मलाई बोलाइएन । अनि मैले त्यो दिनको भत्ता पनि पाएन । जेहोस् परीक्षामा चीट पकडेपति ती केटी केही बेरसम्म अनुनय विनय गर्न थालिन् । उनले कहिल्यै हाँसेर ती शिक्षकलाई फकाउन खोजिन्, भने कहिल्यै लाडिएर बोलेर ती शिक्षकलाई पगाल्न खोजिन् । उनको केही शीप नचलेपछि उनले आफ्नो अन्तिम अस्त्र प्रयोग गरिन् ः आँशु । त्यसपछि त के थियो र उनका आँखाबाट वर्षायामको आकास चुहेजस्तै गरि आँशुका थोपाहरु चुहिन थाले । खै कहाँ लुकाएर राखेकी थिइन् उनले ती सब धाराहरु ? अनि उनको आँशुको भार खप्न नसकेर ती शिक्षकले कापी बुझाउँदै भने ः “मोरीको आँशुले मुटु नै पगाल्यो !”
0 comments
Write Down Your Responses