प्रेम प्रस्ताव नआउने कुरै भएन , रूप र जवानी रहेसम्ममात्रै हो !! सिर्जना रेग्मी

र्‍याम्प मोडलिङमा अहिलेकी उम्दा मोडेल हुन्, सिर्जना रेग्मी। तर, यस क्षेत्रप्रति नै उनलाई भरोसा छैन। 'नेपालमा स्ट्रोङ मोडलिङ एजेन्सी भएन। चल्तीमा रहेका मोडेलले समेत आफैं एजेन्सीको काम गर्नुपर्ने अवस्था छ', उनी प्रस्ट्याउँछिन्।


केही समय मोडलिङ गरेर नयाँ व्यवसायतिर लाग्ने सिर्जनाको योजना छ। विश्व भ्रमण गर्ने सपना साँचेकी उनी त्यो व्यवसाय गर्न चाहन्छिन् जसले उनको सपना पूरा गर्न सकोस्। 'मेरो रुचिचाहिँ व्यापारमा छ', सिर्जना भन्छिन्।

जीवनमा मोडेल बन्छु भन्ने कल्पनै गरेकी थिइनन् सिर्जनाले। सुरुमा फेसन डिजाइनर नीलिमा शर्मालाई सहयोग गर्थिन्। उनै नीलिमा र मेकअप आर्टिस्ट सोफीले सिर्जनालाई मोडलिङतिर प्रेरित गरे। प्रस्ताव आउन थाल्यो। घरपरिवारबाट पनि साथ पाएपछि आफ्नो मोडलिङ यात्रा आरम्भ भएको उनको भनाइ छ।
- रूप र जवानी रहेसम्ममात्रै हो, मोडलिङ। म अहिले त्यही फेजमा छु। रमाइलो लागिरहेको छ।

- यो उमेरमा प्रेम प्रस्ताव नआउने कुरै भएन तर स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा ठूलो हो।

- म भविष्यमा यस्तो व्यवसाय गर्न चाहन्छु जसले संसार घुम्ने मेरो चाहना पूरा गर्न सकोस्।
'ब्राइडल मेकअप कम्पिटिसन २०१२ मा पहिलोपटक म र्‍याम्पमा हिँडे। त्यसपछि टीजीआईएफ नेपाल फेसन विक २०१४ सम्म आइपुग्दा धेरै र्‍याम्प नापिसकेको छु', सिर्जना अनुभव सुनाउँछिन्, 'नेपालका कतिपय मोडेल साँच्चिकै प्रतिभावान् अनि मेहनती छन्। म उनीहरूबाट प्रेरणा लिने गर्छु।'

संखुवासभामा जन्मेकी २२ वर्षीया सिर्जनालाई चलचित्र एवं म्युजिक भिडियोमा चाहिँ रुचि छैन। तर उनी मोडलिङमा आफूलाई भाग्यमानी मान्छिन्। 'मैले पहिलो सोदेखि नै पारिश्रमिक लिएर काम गर्दै आएकी छु। फुर्सद बस्नु परेको छैन। छोटो समयमा नाम, दाम, काम सबै मिलेको छ', सिर्जनाले भनिन्।

ग्ल्याम हन्ट २०१४ को उपाधि जितेपछि नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा गत अक्टोबरमा भएको 'मिस ग्रान्ड इन्टरनेसनल २०१४' मा नेपालको प्रतिनिधित्व गर्दाको क्षण उनलाई विशेष लाग्छ।

'अन्तर्राष्ट्रिय प्रतियोगिता जुन शैली र व्यवस्थापनमा हुन्छ, नेपालमा त्यस्तो हुन सकेको छैन', सिर्जना अनुभव सुनाउँछिन्। मेहनती, अध्ययनशील, सिर्जनशील र काममा सम्झौता नगर्नु सिर्जनाका विशेषता हुन्। विद्यालयदेखि कलेजसम्म पढाइमा अब्बल उनी बीबीए पूरा गरेर अहिले अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा छिन्।  अन्नपूर्ण पोस्ट

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.