छिनछिनमा बेहोश हुन्छन् ७ देखि १० कक्षामा अध्ययनरत बालिका



स्याङ्जा : स्याङ्जा सदरमुकामसँगै जोडिएको राङभाङ गाविस ५ स्थित अरनिको उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा फेरी एउटा अनौठो रोग देखिएको छ। सामूहिक अचेतन (छिनछिनमा बेहोश हुने, रुने, कराउने, चिच्याउने) को समस्याले स्कूलको पढाइमा समेत वाधा पुगेको छ।

विद्यालयका प्राचार्य गोपाल पौडेलका अनुसार यसअघि पनि यो समस्या विद्यालयका छात्राहरूमा बारम्बार देखिएको हो।  विविध उपचार विधि अपनाए पनि बालिकामा मात्र हुने यो समस्या खासै समाधान हुन नसकेको पौडेलले बताए।

विद्यालयमा अध्ययरत करिब २ सय ५० विद्यार्थीमध्ये दैनिक ८ देखि १५ जनासम्म कक्षामै बेहोश हुन्छन्। शिशु कक्षादेखि १२ सम्मको पढाइ हुने सो विद्यालयमा ७ देखि १० कक्षामा अध्ययनरत बालिकामा यो समस्या देखिएको छ। यसले अरू विद्यार्थीको मनोविज्ञानमा समेत नकारात्मक असर परेको  पौडेलले बताए।

पौडेलले विगत ५/६ वर्षदेखि नै एक दुईजनामा यस्ता समस्या देखिदै आएकोमा यसपटक बढी संख्यामा छात्राहरू यो समस्याबाट प्रभावित देखिएका छन्। एक दुई जना बालिकामा मात्र हुँदा अभिभावकले आफना छोरीको व्यक्ति गत समस्याका कारण यस्तो भएको भन्दै बाहिर सार्वजनिक गरेनन् , तर सामूहिक रुपमा बेहोश हुन थालेपछि आफूहरू चिन्तित भएको र विशेषज्ञहरूसँग परामर्श भइरहेको अभिभावक नन्दबहादुर रानाले बताए।

कहिले त एकै दिनमा १२ देखि १५ जना बालिकाहरू बेहोस हुने र रुने चिच्याउने गर्छन्। 'विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउँछ,  विद्यालयका पूर्वप्राचार्य हेमराज अर्यालले भने। कक्षाका आधाभन्दा बढी विद्यार्थी बेहोस हुन थालेपछि गत वर्ष विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेर उपचारमा लाग्यो, तर पनि उपचारले सफलता भने पाउन भने सकेन।

विद्यालयले मनोचिकित्सकको टोली, एलोपेथिक डक्टरको टोली, लामाधामी र झाँक्री समेतलाई बोलाएर समस्याको समाधान खोजेको पौडेलेले बताए।  केही समय पहिले यही समस्यालाई लक्षित गरेर विद्यालयमा स्वास्थ्य शिविर नै संचालन गरिएको थियो।  लामाझाँक्रीले विद्यालय परिसरमा रहेको सरस्वतीको मन्दिर अपवित्र स्थानमा रहेको जनाउँदै भत्काउन लगाए।

विद्यालय परिवार र स्थानीयवासीको सहमतिमै मन्दिर भत्काइए तर पनि बालिकामा देखिएको समस्या भने अझै उस्तै रहेको बाल अधिकार अधिकृत बद्री बाग्लेले बताए। त्यसो त, मनोचिकित्सकको टोलीले विद्यालय परिवार, अभिभावक र गाउँले सबैलाई नियमित रुपमा मनोपरामर्श नियमित गरिनुपर्ने सुझाव दिएको थियो। एलोपेथिक डा. भेषराज पोखरेल मास फेन्टिङ (कन्भर्सन डिस अर्डर ) का कारण बालिकामा समस्या रहेको बताए।

बालिकाहरू बेहोस हुनु अघि कुनै अदृश्य शक्ति ले डराउन दिने आफूलाई जहाँ छोएजस्तो भान हुन्छ अनि सोही अंग दुख्ने गरेको कक्षा १० मा अध्ययरत बालिका रेखा थापाले बताइन्। विद्यालय आएपछि एघार बजेदेखि एक बजे भित्रको समयमा धेरै बेहोस हुने गरेको र बेहोस हुने बालिकाको मुटु दुख्‍ने गरेको विद्यालयका प्राचार्य गोपाल पौडेलले जानकारी दिए।


annapurnapost.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.