भक्तपुरमै एकबोरा चामल लिन ६ घण्टा लाईन



भक्तपुरमा एकबोरा चामल लिन छ घण्टासम्म लाइन बस्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर भक्तपुरको सूर्यविनायकमा दैनिक एकबोरा चामल लिन छ घण्टा लाम बस्दै आएका छन् भक्तपुरका बासिन्दा ।
भक्तपुरको सूर्यविनायकस्थित गङ्गा महिला हस्तकलाले सूर्यविनायकमा आयोजना गरेको दसैँ–तिहार मेलामा खाद्य संस्थानले राखेको कक्षमा सहुलियत दरको चामल वितरण भएपछि भक्तपुरका बासिन्दा छ घण्टासम्म लाम बस्ने गरेका छन् ।

भक्तपुरका व्यापारीले महँगोमा चामल बिक्री गरिरहेका बेलामा खाद्य संस्थानले मेलामा सहुलियत दरमा चालम उपलब्ध गराएपछि भक्तपुरका बासिन्दाको चामल लिन दैनिक ओइरो लाग्ने गरेको गङ्गा महिला हस्तकलाकी प्रमुख गङ्गा माकले बताउनुभयो ।
चामल लिन बिहान ७ बजेदेखि उपभोक्ताहरू लाम बस्ने गरेको बताउँदै उहाँले खाद्य संस्थानले ११ बजे चालम झार्दा चामल लिनेको भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपर्ने बताउनुभयो । लाम बस्नेलाई कुपन दिने गरेको र कुपनकै आधारमा चामल दिने गरेको बताउँदै माकले एकजनालाई एक बोरामात्रै चामल दिँदा पनि चामल लिनेको ओइरो लाग्ने गरेको बताउनुभयो ।
खाद्य संस्थानले मेलामा सहुलियत दरमा जीरा मसिनो चामल २० किलोको रु १०६०, जापनिज चामल ३० किलोको रु १३५०, बासमती चामल २० किलोको रु १८८० र गोरखनाथ चामल रु १२२५ मा बिक्री गरेपछि चामल लिनेको ओइरो लागेको हो । सबभन्दा बढी जापनिज चामल र जीरा मसिनो चामलको माग बढी रहेको बताउँदै माकले चामल ल्याएकै दिन सकिने र कतिपय चामल नपाएर फर्किने गरेको बताउनुभयो ।
त्यसैगरी मेलामा साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ६० मा र नुन प्रतिप्याकेट रु १३ मा बिक्री गरेपछि चिनी र नुन लिन आउने ग्राहकको पनि दैनिक भीड लाग्ने गरेको छ । चिनी र नुनका लागि ग्राहक एकघण्टासम्म लाम बस्ने गरेको र कतिपयले लाम बस्दा पनि चिनी नपाई फर्कनुपर्ने अवस्था आएको माकले बताउनुभयो ।
खाद्य संस्थान बाग्मती अञ्चल प्रमुख खड्गबहादुर ज्ञवालीले भक्तपुरमा पु-याउनै नसक्ने गरी चामलको माग आएको बताउनुभयो । भक्तपुरको एउटा कक्षबाट मात्र अहिलेसम्म करिब तीन हजार क्विन्टल चामल बिक्री गरिसकेको बताउँदै उहाँले भक्तपुरमा चामल बिक्री नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरमा थेग्नै नसक्ने गरी चामलको माग आयो, व्यापारी पनि उपभोक्ता भएर आएको हुनसक्ने आशङ्का पनि बढ्यो, दोहोरिएर पनि ग्राहक आएको हुनसक्ने भएकाले अनुगमन गर्नुपर्ने अवस्था आएको छ ।” संस्थानबाट माग भएसम्म चामल दिने प्रयास गरिने उहाँको भनाइ छ । गत असोज १ गतेदेखि आयोजना गरेको दसैँ–तिहार मेला छठसम्म सञ्चालन हुने भएको छ । रासस

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.