काठमाडौंलाई ट्र्याक गर्ने नेपाली युवाको नयाँ योजना

यदि कसैले सबभन्दा बढी जाम र सास्ती कुन सहरमा हुन्छ भनेर सोध्यो भने तपाईंले सहजै उत्तर दिनुहुन्छ, काठमाडौं। हुन पनि अहिले राजधानी काठमाडौंमा ट्राफिकलाई गाडीको लाइन मिलाउन भ्याइनभ्याइ छ। सर्वसाधारण दैनिक समयमा पुग्नुपर्ने गन्तव्यमा कहिल्यै पुग्न सकेका छैनन्। एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा यात्रुले मात्रै होइन, सवारीचालकले पनि सास्ती बेहोरिरहनु परेको छ।
 काठमाडौंलाई ट्र्याक गर्ने नेपाली युवाको नयाँ योजना
चलाउने गाडीको एउटै रुट भए पनि दिनदिनै नयाँनयाँ गाडी बजारमा भित्रिरहेका छन्। गाडीको यस्तो भीडभाडले सडकमा गुड्ने सवारीसाधनलाई सहजता भएको छ, न त सडकमा हिँडने सर्वसाधारणलाई नै। बढ्दो सवारीसाधनकै कारण काठमाडौं सहर दिनप्रतिदिन अव्यवस्थित बन्दै गएको छ। 
 
राजधानी काठमाडौंको अव्यवस्थित सवारीसाधानका कारण हैरानी नभोग्ने मानिस को होला र? तपाईंलाई समयमै गन्तव्य पुग्नुपर्ने भए पनि भनेको बेला गाडी आउँदैन। अझ कार्यालय समयमा विद्यार्र्थी, पेसाकर्मी र व्यापारी हतारमा गाडीको पर्खाइमा हुन्छन्। तर, ट्राफिक जाम वा विविध कारण गाडी निकै ढिलो आइपुग्छ। प्रत्येकले भोग्नु परेको यो समस्या कम गर्ने सोचाइले नयाँ उपाय आएको छ, ट्र्याकमान्डु।
सुरुमा चारजना युवा चन्दन गुप्ता, प्रज्ज्वल रिमाल, प्रकाश अर्याल र ठाकुर न्यौपानेले सफ्टवेयर र हार्डवेयर कोलाब्रेसन गरी यो प्रविधि बनाएका हुन्। अहिले योरबिट टेक्नोलोजी कम्पनीमार्फत ट्र्याकमान्डु प्रोजेक्ट सञ्चालनमा आएको छ। 
 
ट्र्याकमान्डुले कसरी काम गर्छ? 
 
सबैलाई थाहा छ, ट्र्याकिङ भनेको जुनसुकै समस्याको प्राथमिक समाधान हो। यातायातको सन्दर्भमा सवारीसाधनलाई ट्र्याक गर्न सकियो भने यातायातको अधिकांश समस्या कम हुन्छ। नौ महिनासम्मको मेहनतपछि विकास गरिएको ट्र्याकमान्डुले सहरका गाडी र यात्रीलाई व्यवस्थित गर्ने उद्देश्य लिएको छ। यसको सिस्टममा हार्डवेयर कनेक्ट गराउनासाथ ट्र्याकमान्डु सर्भरले सूचना प्राप्त गर्छ र त्यसलाई नक्सामा देखाउँछ। 
 
यो हार्डवेयर सार्वजनिक यातायातमा मात्रै होइन निजी गाडी र मोटरसाइकलमा पनि जडान गर्न सकिन्छ। चुरोटको बट्टा साइजमा रहेको यस हार्डवेयरका कारण ट्र्याकमान्डुको सर्भरमा सूचना सेयर हुन्छ। 
 
यसरी सवारीसाधनमा जडान गरिएको हार्डवेयरको मद्दतबाट सूचना लिन स्मार्टफोनमा एन्ड्रोइड एप्स ट्र्याकमान्डु डाउनलोड गर्नुपर्छ। स्मार्टफोन प्रयोग नगर्नेले पनि ट्र्याकमान्डु सेवा लिन सक्छन्। यसका लागि बस स्टपमा 'पब्लिक डिस्प्ले बोर्डु राख्‍नुपर्छ। त्यसबाट मोबाइल वा बसस्टपमा रहेको डिस्प्ले बोर्डबाट आफ्नो गन्तव्यको बस कहाँ आइपुगेको छ, हेरेर थाहा पाउन सकिन्छ। 
ट्र्याकमान्डु किन प्रयोग गर्ने? 
 
सहरीकरणले निम्त्याएको मुख्य चुनौती यातायात व्यवस्थापन हो। यो प्रणालीले सार्वजनिक गाडीको मात्रै जानकारी दिँदैन, निजी गाडी र मोटरसाइकलको सूचनासमेत पाउन सकिने प्रणाली डिजाइन गरिएको छ। 
 
यस प्रणालीको प्रयोगबाट गाडीले रुटमा गर्ने दुरुपयोग, अनियमिततालाई सजिलै ट्र्याकमा ल्याउन सकिने चन्दन बताउँछन्। उनका अनुसार आफ्ना बच्चालाई ठीक समयमा स्कुलको गाडीमा पु:याउन ट्र्याकमान्डु उत्तम विकल्प बन्ने पक्का छ। किनकि यो प्रणालीबाट स्कुलको गाडी आउने समय मोबाइलबाटै थाहा पाउन सकिन्छ। 
 
सार्वजनिक गाडीको प्रतीक्षामा पनि आफूले चढ्न खोजेको गाडी कहाँ आउँदैछ भनेर थाहा पाउन यही एप्स पर्याप्त हुन्छ। निजी गाडीमा समेत यो प्रणाली जडान गर्न सकिने हुनाले आफन्त वा अन्य कसैले कुरिरहनु पर्दैन। यसले गाडी र गाडी मालिक सबैलाई सुरक्षित यात्राको बानी बसाल्ने र दुरुपयोगबाट बचाउने विश्वास लिइएको छ। 
 
कहिले आउँदैछ बजारमा? 
 
ट्र्याकमान्डु एप्सका लागि फाइनल हार्डवेयर तयारी अवस्थामा छ। हार्डवेयरले क्वालिटी टेस्ट गर्नेबित्तिकै एप्स बजारमा आउने बताइएको छ। सम्भवत: यही महिनाको अन्तिम सातासम्ममा ट्र्याकमान्डु प्रयोगमा आउनसक्ने सम्भावना छ। 
 
 
विश्‍व सहर सम्मेलनमा ट्र्याकमान्डु 
 
गत जुन १ देखि ४ सम्म सिंगापुरमा आयोजना भएको विश्व सहर सम्मेलनमा ट्र्याकमान्डु पनि सहभागी गराइएको थियो। माइक्रोसफ्ट इनोभेसन सेन्टर (एमआईसी), नेपालले सञ्चालन गरेको सीटीएप अप्पाथन इभेन्टमा उत्कृष्ट भएपछि यो टिमलाई सिंगापुर जाने अवसर मिलेको थियो।
 
त्यहाँ पनि ट्र्याकमान्डु सबैको आकर्षण बनेको चन्दन सुनाउँछन्। 'सिंगापुरमा समेत यो प्रविधिको माग भयो। धेरै सहरका मेयरले हाम्रो प्रयासलाई प्रशंसा गरे', उनी भन्छन्, 'माइक्रोसफ्टका अधिकारीले यो प्रोजेक्ट तिम्रो देशमा प्रयोगमा आउन सकेन भने माइक्रोसफ्टको लोगो राखेर अन्य देशमा लन्च गरिदिन्छौं भनेर आश्वासनसमेत दिए।'
 
माइक्रोसफ्टको हस्पिटालिटी स्विटमा अरू चारवटा प्रोजेक्टसँगै ट्र्याकमान्डुलाई प्रदर्शन गरिएको थियो। 'यसबाट सहरको वास्तविक समस्या बुझ्यौं र ट्र्याकमान्डुको सिस्टम अझ सुधार्ने आइडिया पायौं', चन्दन थप्छन्। 
- See more at: http://annapurnapost.com/News.aspx/story/1147#sthash.KRsDEF0a.g99hBDub.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.