मेरो हत्या भए पनि विचार रहिरहनेछ…(डा.सीके राउतसँगको अन्तर्वार्ता)

प्रहरी हिरासतमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउत(चन्द्रकान्त राउत)लाई बुधबार सुनवाईको लागि सर्वोच्च अदालतमा ल्याइएको थियो । सुनवाईकै क्रममा लंचब्रेकको समयमा सर्वोच्च अदालतको इजलास नम्बर चारमा पत्रकार बीपी साहले कुराकानी गरेका थिए । उक्त कुराकानीको सम्पादित अंश ।

बीपी साह– अहिले स्वास्थ्य अवस्था कस्तो छ ?

डा.राउत– आमरण अनसनमा बसेको आज(बुधबार) चौथो दिन हो, समस्या भइरहेको छ । हिजो (मंगलबार) दिनभरी उठ्न सकेको थिइन, त्यही भएर हिजो राति दश बजे बीर अस्पतालमा लगेर मेरो इच्छा विपरीत स्लाईन पानी चढायो । डाक्टरले औषधि पनि लेखेका छन् र नियमित चेकजाँच गराउन भनेका छन् ।

बीपी साह– औषधि पाउनु भो त ? अनी आज चेकजाँच भयो ?

डा.राउत– छैन । अहिलेसम्म कुनै औषधि दिइएको छैन । आज विहान दश बजे चेकजाँच गराउन भनेको थियो तर आज अस्पताल लगिएको छैन । सर्बोच्च अदालतले मेरो स्वास्थ्य नियमित चेकजाँच गराउन निर्देशन दिएको छ तर त्यस किसिमको कुनै काम भएको छैन । मेरो मृगौलामा समस्या भईरहेको छ । देब्रे खुट्टाले काम गर्न छोडेको जस्तो छ । बोल्न अपठ्यारो भइरहेको छ ।

बीपी साह– हिरासत भित्र कुनै दुव्र्यहार पनि भा छ कि ?

डा.राउत– मलाई मानसिक तनाव दिने र दुव्र्यवहार नियमित गरिदैछ । मलाई कसैसँग भेट्न दिइएको छैन । पढ्न पनि दिइएको छैन । अस्ति कलमसमेत खोसेको थियो । मलाई धेरै टर्चर गर्न खोज्नेहरुलाई अदालतमा भन्दिन्छु भने पछि शान्त हुन्छन् । अर्को कुरा, मलाई कुनै जानकारी पनि दिइँदैन, मलाई कहाँ लगिदैछ ? के को लागि लगिदैछ ? पुगे पछि मात्र थाहा पाउँछु ।

बीपी साह– खासमा हिरासत भित्र अनसन बस्नुको कारण के ?

डा.राउत– मेरो वाकस्वतन्त्रतालाई बन्द गरिएको छ । मेरो मानवअधिकारमाथि दमन भएको छ । विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय नियम कानुनले बोल्न पाउने अधिकार दिए पनि नेपाली शासकले मेरो आवाजलाई बन्द गर्न खोजेको छ । मेरो समर्थनमा आवाज उठाउनेहरुमाथि दमन गरिँदैछ । मैले बोल्न पाउनु पर्छ, शान्तिपुर्ण रुपले मैले आफनो विचार राख्न पाउनुपर्छ । र, नेपाल सरकारले मसँग अपराधीको रुपमा नभई शान्तिपुर्ण तरिकाले वार्ता गर्नुपर्छ ।

बीपी साह–डा.साहव, तपाईका बारे विभिन्न कुराहरु उठ्दैछ, खासमा तपाईको माग चाही के हो ?

डा.राउत– नेपाली मिडियाहरुमा आएकै कुरा हो, सर्वप्रथम मैले नेपालको संविधानमा छुट्टिन पाउने अधिकार(राइट टु सेसेसन) को माग गरेको हुँ । यो व्यवस्था विश्वका कयौं देशहरुमा छन् । यसको अर्थ देश टुक्रयाउनु होइन, देशका कुनै समुदाय वा कुनै असन्तुष्ट पक्षले राज्यसँग बस्न नचाहने अवस्थामा जनमत सँग्रहबाट छुट्टिन सक्छन् ।

बीपी साह– तपाई नेपाल टुक्रयाउनै लागेको भन्छन् नी ?

डा.राउत– नेपालको सार्वभौमसत्ता जनताको हातमा छ । कोही एक व्यक्तिले भन्दैमा देश टुक्रिदैन । देशसँग बस्ने वा नबस्ने फैसला जनताले गर्छ । मेरो विचारबाटै नेपाल सरकार आतिएको छ ।

बीपी साह– मधेशलाई १२ वर्षभित्र अलग पार्ने योजना छ रे ?

डा.राउत– तपाईले सुनेको कुरा सही हो तर यसका विभिन्न चरणहरु छन् । मैले भनेको छु कि मधेशीसँगको विभेद कायम रह्यो भने मधेशी जनता नै जनमत सँग्रहमार्फत अलग हुनेछ । मधेश नेपालको उपनिवेश भएको मात्र दुई सय वर्ष भएको छ । यो दुई सय वर्षमा मधेशीमाथि दमन र शोषण हुदै आएको छ । मधेशी जनता नेपालसँग सम्बन्ध राख्न चाहँदैनन् । अलग हुने विचार मेरो मात्रै नभएर आजको दिनमा लाखौं मधेशी जनताको विचार बनेको छ । मेरो विषयमा केही गलत प्रचार पनि गरिएको छ मेरो दस्तावेजहरुलाई तोडमडोड गरिएर भ्रम फैलाईदैछ ।

बीपी साह– यसभन्दा पहिले पनि कयौं नेताहरुले यस्ता आवाज उठाएका थिए र उठाउँदै पनि छन् । कोही मारिए भने कोही बेपत्ता भएका छन् नी ?

डा.राउत– हा हा हा…बीपी जी, म अमेरिकाबाट आउनुभन्दा पहिले नै यो कुरा सोचेको थिए । मलाई पनि थाहा छ, कयौं नेताहरुको हत्या गरिएको छ । मेरो पनि हत्या गर्ने योजना बनिसकेको छ । तर म खुशी छु । किनभने मैले डकुमेन्टेशन(दस्तावेजिकरण)को काम धेरै गरेको छु । म मरे पनि मेरो विचार रहिरहनेछ । अहिले मधेशमा हजारौं युवाहरु यस विचारलाई मानिरहेका छन् । उनीहरुले आफनो प्राणको आहुती दिएर मधेशलाई स्वतन्त्र बनाउन चाहन्छन् ।
Interview of ck raut
बीपी साह– तर त्यस्तो देखिदैन नी ?

डा.राउत– काठमाडौंमा बसेर देखिदैन, मधेशमा गएर हेर्नुस् । संघीयता र स्वायत्तताको नाममा वर्षौदेखि लागेका मधेशीहरु निरास भएर अब आफनै देश बनाउन चाहन्छन् । दुई सय वर्षदेखिको सम्बन्ध तोडेर स्वतन्त्र हुन चाहन्छन् । नेपालका अन्य समुदाय पनि राज्यबाट पीडित छन् । उनीहरु पनि स्वतन्त्र हुन चाहन्छन् ।

बीपी साह–तर तपाईसँग नेताहरु छैनन् नी ?

डा.राउत– कुन नेताको कुरा गर्नु हुन्छ ? अहिलेका राजनीतिक दलका नेताहरुबाट मधेशी जनता सन्तुष्ट रहेको देखिदैन । दोस्रो तहका नेताहरु समर्थनमा हुनुहुन्छ । र, नयाँ नेताहरु उभ्रिदै छन् । यसै आन्दोलनबाट कयौं नेताहरु जन्मिनेछन् ।

बीपी साह– अन्त्यमा केही छ ?

डा.राउत– यसरी प्रहरीको दुव्र्यवहार सहेर पनि तपाईले कुरा गर्नु भएकोमा धन्यवाद । अन्त्यमा म के भन्न चाहन्छु भने मैले मेरो विचार राखेको छु । आज यो विचार मेरो मात्र नभई लाखौं मधेशीको विचार बनेको छ । राज्यले मलाई कुनै बेला पनि दबाउन सक्छ । तर, मधेशी जनता विचलित हुने छैनन् र मेरो विचार रहिरहनेछ । आन्दोलनमा घुसपैठ हुन सक्छ, त्यसबाट सम्पुर्ण समर्थकहरुलाई सचेत र संयम रहन आग्रह गर्दछु । सरकारले वार्ता नगरेसम्म आन्दोलन जारी रहनेछ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.