सर्विया र अल्बानियाका फुटबल खेलाडीबीच मैदानमै कुटाकुट
बेलग्रेड : दुवै टोली गोलका लागि प्रयास गरिरहेका थिए, खेल भने गोलरहित थियो। यसैबीच एकाएक मानवरहित विमान मैदानमा खस्यो।
विमानमा झन्डा झुन्डिएको थियो। एक खेलाडीले झन्डा ताने, विपक्षी टोलीका खेलाडी उनीमाथि जाई लागे। त्यसपछि दर्शकदीर्घले विपक्षी टोलीका खेलाडीलाई प्रहार गरे।
रंगशालाको स्थिती अस्तब्यस्त बन्यो, अन्तत: रेफ्रीले खेल रद्धको निर्णय लिनुपर्ने अवस्था बन्यो। युरोकप २०१६ को छनोट अन्तर्गत बुधबार राती सर्बिया र अल्बानियाबीच देखिएको यो दृश्य हो।
पहिलो हाफको अन्त्यतिर अल्बानियाको झन्डा बोकेर खेल भइरहेको मैदानमा अवतरण भएको ड्रोनले स्थिति तनावपुर्ण बनायो। सर्बियाको बेलग्रेडमा भएको खेलमा घरेलु टोलीका खेलाडी अलेक्जान्डर मित्रोभिचले झन्डा तानेपछि दुई टोलीका खेलाडी र अफिसियल भिडन्तमा उत्रिएका थिए।
घरेलु दर्शकको मात्र उपस्थिती रहेको रंगशालामा त्यसपछि प्यारापिटका कुर्सीहरु भाँचेर अल्बानियाका खेलाडीमाथि प्रहार भए। मैदानमै उत्रिएर पनि दर्शकले अल्बानियन खेलाडीसँग झगडा गरे।
रंगशालामा नेटोको झन्डा जलाइयो, घरेलु दर्शकले प्रहरीसँगै झगडा गरेर आक्रोस व्यक्त गरे। पछि, घरेलु खेलाडीको सहयोगमा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लियो। सर्बिया र अल्बानियाबीच जारी राजनीतिक तनावको असर यो घटनामा देखिएको थियो।
0 comments
Write Down Your Responses