बबरमहलस्थित सोमबार पल्टिएको अनियन्त्रित बस
तीनजनाको मृत्यु, १० घाइते
काठमाडौं : राजधानीको बबरमहलस्थित मूलसडकमा सोमबार साँझ अनियन्त्रित रूपमा गुडेको बसले किच्दा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन्।
धुलिखेलबाट पुरानो बसपार्कतर्फ आइरहेको बा१ख ८६७६ नम्बरको बसले विपरीत दिशामा गुडिरहेको चार मोटरसाइकलाई ठक्कर दिएको थियो। आफ्नै लेनमा गुडिरहेका मोटरसाइकललाई सोहोरेर बस आफैं पनि पल्टिएको थियो।
प्रत्यक्षदर्शी ट्राफिक प्रहरीका अनुसार बस बीच सडकमै पल्टिँदा दुई मोटरसाइकल चालक किचिएका थिए। घटनास्थलमा बा३७प ७६३९, बा३२प २३७६ र बा६२प ९२९८ नम्बरका तीनवटा मोटरसाइकल किचिएका थिए। नम्बर थाहा हुन नसकेको अर्को एउटा मोटरसाइकल पनि किचिएको थियो।
बसमुनि परेका दुईजना तथा बसले ठक्कर दिएका एक मोटरसाइकल चालकलाई सिभिल अस्पताल बानेश्वर पु:याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। मृत्यु हुनेमा बाराका मकदुल मियाँ ठकुराइन, सर्लाही बर्दिबासका तिलककुमार गौतम र नाम नखुलेका एकजना छन्। मृत्यु हुने सबै मोटरसाइकल चालक हुन्।
घाइतेमध्ये पाँचथरका यामकुमार मगर र डा. पदमप्रसाद शर्माको अवस्था गम्भीर भएको चिकित्सकले जनाएका छन्। मगरलाई सिभिल अस्पतालबाट शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिएको छ भने शर्माको सिभिल अस्पतालमै उपचार भइरहेको छ।
घाइतेमा सिन्धुपाल्चोकका चिउरे वाइबा, धादिङकी देविका लामा, कीर्तिपुरका निमेष नकर्मी, मैतीदेवीका आशिष काफ्ले, भैंसेपाटीका ठकुन्ना श्रेष्ठ र न्युरोडकी नानु श्रेष्ठ छन्। उनीहरूको वीर अस्पताल र नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
बसमा भने धेरै यात्रु थिएनन्। प्रत्यक्षदर्शी समीर केसीका अनुसार केही मोटरसाइकल पल्टिएको बसमा आएरसमेत ठोक्किएका थिए। केसीले भने, 'यति छिटो बस पल्टियो कि टाढा रहेका मोटरसाइकल चालकले समेत ब्रेक थिच्नै भ्याएनन्।'
पल्टिएको बसको अघिल्लो भाग क्षतिग्रस्त भएको छ। प्रहरीका अनुसार बस चालक सामान्य घाइते भएका छन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश आचार्यले बसका चालक घटनापछि भागेर वीर अस्पतालमा पुगी त्यहाँबाट सम्पर्कविहीन भएको बताए। अबेरसम्म चालकको नाम खुलेको छैन।
प्रत्यक्षदर्शी एक ट्राफिक प्रहरीले भने, 'बानेश्वरतिरबाट हुइँकिएर आएको बसले आँखाले ठम्याउनै नसक्ने गतिमा मोटरसाइकललाई ठक्कर दिएको थियो।' सरकारले हालै बिस्तार गरेर फराकिलो र आकर्षक बनाएको राजधानीको यो सडक खण्ड कम दुर्घटना हुने स्थानमध्ये पर्छ। ट्राफिक प्रहरीका अनुसार यो क्षेत्रमा चालकको लापरबाहीभन्दा बाहेक कुनै पनि कारणले दुर्घटना हुने अवस्था छैन।
महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी सन्तोष खड्काले भने, 'अनियन्त्रित गतिमा गुडेको बसको प्राविधिक पक्षका बारेमा समेत अनुसन्धान भइरहेको छ।' राजधानीमा गुड्ने बसको अनुगमन नगर्दा दुर्घटना बढेका छन्। जताततै रोक्ने, तीव्र गतिमा गुडाउने र थेग्नै नसक्ने भीड बोकेर गुड्ने थोत्रा र बिग्रेका बसले धेरै दुर्घटना गराइरहेका छन्।
यसैबीच ट्यांकरको ठक्करबाट सोमबार पुरानो बसपार्कमा स्कुटर चालकको मृत्यु भएको छ। ना २ ख ३२१७ नम्बरको ट्यांकरको ठक्करबाट बा ५० प ७६७७ नम्बरको नाम नखुलेको स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्नपुर्ण पोस्टबाट उद्रित गरिएको ......
0 comments
Write Down Your Responses