अर्जेन्टिनाको सानदार ७ गोल

हङकङ, आश्विन २९ - अर्जेन्टिनाले हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ७-० को फराकिलो जित निकालेको छ । विश्वकप उपविजेताले लियोनल मेसी, एन्जेल डि मारिया, निकोलस गाइतान, गोन्जालो हिगुइन लगायतका स्टार खेलाडीहरूलाई मैदानमा उतारेको थियो ।

दर्शकका सर्वाधिक आकर्षण अर्जेन्टिनी टोलीका कप्तान मेसीले दुई सुन्दर गोल गरे । मध्यातरपछि ३० मिनेट खेलेका उनले पाचौं र सातौं गोल गरेका हुन् । मैदान प्रवेश गरेको ६ मिनेटभित्रै उनले एभर बनेगाको वन-टु पासमा पहिलो गोल गरेका थिए ।

हङकङेली गोलकिपर याप हुङ फाईले मेसीको प्रहार रोक्ने कुनै मौकै  पाएनन् । रक्षापंक्तिका तीन खेलाडीलाई छलाउँदै गोलपोष्टको बायाँ कुनाबाट जाली चुमेको उनको दोस्रो गोल अझ उत्कृष्ट थियो । हङकङ स्टेडियममा मंगलबार राती आयोजित खेलमा उनले ८४ औं मिनेटमा गरेको सातौं गोल अन्तिम बन्यो ।

चारपटकका फिफा वर्ष खेलाडी मेसी मैदानमा आउनुअघि नै अर्जेन्टिना ४ गोलले अघि थियो । लगातारको दर्शक हुटिङपछि अर्जेन्टिनी कोच जेरारडो मार्टिनोले उनलाई मैदान प्रवेश गराएका थिए । मेसीलाई  त्यहाँ उपस्थिती २० हजार बढी दर्शकले एकैपटक ताली र हुटिङले स्वागत गरे । विश्वकपमा जर्मनीसँग १-० ले पराजित भएपनि मेसी उत्कृट खेलाडीका लागि गोल्डन बुटबाट सम्मानित भएका थिए ।

अर्जेन्टिनी राष्ट्रिय टोलीले हङकङमा खेलेको यो पहिलोपटक हो । मैत्रीपूर्ण उक्त खेलमा गोन्जालो हिगुइन र गाइतानले समेत २-२ गोल गरे । अर्जेन्टिनाले १९ औं मिनेटमा मिडफिल्डर एभर बनेगाको गोलबाट अग्रता लिएको थियो ।

४२ औं मिनेटमा हिगुइनले हेडमार्फत दोस्रो गोल थपे । मध्यान्तरअघिको  तीन मिनेट अन्तरमा अर्जेन्टिनाले दुई गोल गरेको थियो । फिफा बरियतामा १६४ औं स्थानमा रहेको हङकङ दोस्रो बरियताको अर्जेटिन्टनासँग खेल अवधिभर निरीह देखियो । हङकङले गोलका केही अवसर निकालेपनि सशक्त थिएनन् । हङकङेली खेलाडी गडफ्रेड कारीकारीले अर्जेन्टिनाका केही राम्रा प्रहारलाई जाली चुम्नबाट रोके । गत शनिबार बेइजिङमा आयोजित खेलमा अर्जेन्टिना ब्राजिलसँग २-० गोल अन्तरले हारेको थियो । हङकङको जितले भने टोलीलाई राहत दिएको छ ।

मेसी ब्राजिलसँगको खेलमा पेनाल्टी प्रहारबाट चुकेका थिए । यसैवर्ष रियल म्याडि्रड बाट म्यानचेष्टर युनाइटेड सरेका डि मारिया अन्तिमसमयमा मैदान छिरेका थिए । म्यान्चेस्टरसँग मारियाले गरेको ५९.७ मिलियन युरोको  सम्झौता अहिलेसम्मकै बि्रटिस किर्तिमानी रकम हो ।

हङकङ फुटबल एसोसियसनको शतबाषिर्कीका अवसरमा उक्त मैत्रीपूर्ण खेल आयोजित थियो । सन् १९१४ मा स्थापित एसोसियसन एसियाकै पुरानो फुटबल संघ मध्येको हो । अर्जेन्टिनी टोलीलाई हङकङ निम्त्याउन एसोसियनसनले पारिश्रमिक वापत ३ करोड हङकङ डलर (करिब ३७ करोड ९० लाख रुपैयाँ) तिरेको थियो ।

हार निश्चितजस्तै थियो । तर विश्वकप उपविजेता अर्जेन्टिनालाई साहसपूर्वक सुरुको १९ मिनेट रोक्न सक्नुलाई पनि हङकङले सफलता मानेको छ । 'दुई टिम बीचको भिन्नता स्पष्ट थियो तर हङकङ टिमले देखाएको उत्साहलाई प्रशंसा गर्नुपर्छ', खेलपछिको पत्रकार सम्मेलनमा अर्जेन्टिनी कोच मार्टिनोले भने ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.