सिरियामा आक्रमण गर्ने ओबामाको घोषणा, नगर्न पुटिनको चेतावनी
वासिङ्टन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बुधबार इराकमा जिहादी सेनालाई नष्ट गर्ने कारबाहीलाई विस्तार गर्दै सिरियामा समेत हवाई आक्रमण गर्ने निर्णय गर्दै इस्लामिक स्टेटमाथि निरन्तर आक्रमण गर्न आदेश दिनुभएको छ ।
अमेरिकाको यस्तो घोषणापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चेतावनी दिंदै यदि त्यस्तो भएमा यसले विश्वव्यापी मान्यताको उल्लंघन हुने बताउनुभएको छ ।
पछिल्लो समय इराक र सिरियामा जिहादी सेनाले दबदबा कायम गर्न थालेपछि राष्ट्रपति ओबामाले इराकी सेनालाई बलियो बनाउने तथा सिरियाली प्रतिपक्षीलाई सैनिक सहयोग वृद्धि गर्ने बचन दिनुभएको छ । यसअघि उहाँले युद्ध अन्त्य गर्ने तथा मध्यपूर्वमा अनन्त सङ्घर्षको बाटो नखोल्ने राष्ट्रपति बन्ने चाहना व्यक्त गर्नुभएको थियो ।
अमेरिका तथा उसका सहयोगी मुलुकले इराक र सिरियाको विपक्षीलाई सघाउँदै आएको छ भने रुसले सिरियाली सरकारलाई सघाइरहेको छ । सिरियाको विद्रोहमा अहिलेसम्म सबा लाखभन्दा बढीको मृत्यु भैसकेको छ ।
अमेरिकी नियन्त्रणमा रहेको इराकमा इस्लामिक जिहादीले पकड बढाउँदै लगेपछि टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति ओबामाले इस्लामिक स्टेट तुलनै गर्न नसकिने क्रूर समूह भएको र उनीहरूले मध्यपूर्वमा रगतको टाटो बसाएको बताउनुभयो ।
यस समूहले अमेरिकी दुई पत्रकारको घाँटी काटी हत्या गरेको छ भने इराक तथा सिरियाका व्यापक क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ ।
उहाँले यी लडाकूले बन्दी बनाइएका तथा बालबालिकाको समेत हत्या गरेको र महिलालाई दासी बनाइ बलात्कार गरेको बताउनुभयो । उहाँले यस्तो क्रूरताको एक मात्र प्रतिक्रिया हुने बताउनुभयो ।
उहाँले आफ्नो मुलुकलाई नयाँ विदेशी युद्धको लागि तयार गर्दै आफ्नो उद्देश्य स्पष्ट भएको र आफूहरूले एकीकृत तथा दिगो आतङ्क प्रतिरोधक रणनीतिबाट आईएसलाई कमजोर बनाउँदै अन्त्यमा नष्ट गर्ने बताउनुभयो ।
उहाँले आफूले सिरिया तथा इराकमा आईएसआईएलमाथि कारबाही गर्ने बताउनुभयो । उहाँले आफ्नो राष्ट्रपतित्वको मूख्य सिद्धान्त ‘‘कसैले अमेरिकालाई चुनौती दिए त्यसले कतै सुरक्षित स्थल नपाउने’’ भन्ने भएको बताउनुभयो ।
अमेरिकी एक वरिष्ठ अधिकारीले राष्ट्रपति ओबामाले सिरियामा सैनिक कारबाहीको आदेश दिनुभएको कुरामा कुनै शङ्का नभएको बताए । यसअघि राष्ट्रपति ओबामाले सिरियाको गृहयुद्धमा आफूलाई संलग्न गराउन अस्वीकार गर्नुभएको थियो ।
ती अधिकारीले पहिलो आक्रमण कहिले हुने भन्ने विषयमा बताउन अस्वीकार गरे । प्रतिरक्षाका एक वरिष्ठ अधिकारीले अमेरिकी सेना सिरियामा आईएसआईएलमाथि आक्रमण गर्न तयार रहेको बताए ।
राष्ट्रपति ओबामाले नयाँ सङ्घर्ष सोमालिया तथा यमनको जस्तो हुने बताउनुभयो । उहाँले आफ्नो १४ मिनेटको सम्बोधनमा आतङ्कवादविरुद्ध नयाँ मोर्चा अघिल्लो दशकको थकाउने जमिन युद्धको पुनरावृत्ति नहुने बताउनुभयो ।
उहाँले वासिङ्टनले इराकी सेना, कुर्द लडाकू तथा सिरियाली विद्रोहीलाई सघाउने तथा अमेरिकाले हवाई शक्ति प्रयोग गर्ने उल्लेख गर्नुभयो ।
अमेरिकाले सोमालिया तथा यमनमा चालकविहीन विमान प्रयोग गरी हवाई आक्रमण गरेको थियो ।
ती अधिकारीले इराकमा आईएसआईएल लक्ष्य भएको र त्यसमाथि आक्रमण गरिने जानकारी दिए । राष्ट्रपति ओबामाले इराकी सेनालाई तालिम दिन अमेरिकाले ४७५ सैनिक इराकमा पठाउने घोषणा गर्नुभएको छ । यसबाट इराकमा अमेरिकी सैनिकको सङ्ख्या एक हजार ६०० पुग्नेछ ।
ती अधिकारीले इराकमा आईएसआईएल लक्ष्य भएको र त्यसमाथि आक्रमण गरिने जानकारी दिए । राष्ट्रपति ओबामाले इराकी सेनालाई तालिम दिन अमेरिकाले ४७५ सैनिक इराकमा पठाउने घोषणा गर्नुभएको छ । यसबाट इराकमा अमेरिकी सैनिकको सङ्ख्या एक हजार ६०० पुग्नेछ ।
उहाँले संसदलाई सिरियामा लडाकूहरूलाई तालिम दिन तथा हतियार उपलब्ध गराउन तत्कालै अनुमति दिन आग्रह गर्नुभयो ।
उहाँले वासिङ्टनले आईएसविरुद्ध युद्ध गर्न सिरियाली राष्ट्रपति बसार अल–असादसँग कहिल्यै मिलेर काम नगर्ने बतानुभयो । उहाँले सिरियाली राष्ट्रपति असादले आफ्नै जनताविरुद्ध क्रूर गृहयुद्ध गरी आफ्नो वैधानिकता गुमाएको बताउनुभयो ।
उहाँले सांसदहरूलाई सिरियामा तालिम अभियान सञ्चालन गर्न ५० करोड अमेरिकी डलर उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।
उहाँले वर्तमान आतङ्कवादी विरुद्ध अधिकारका आधारमा उहाँलाई आईएसविरुद्ध अभियान सञ्चालन गर्न अधिकार भएको बताउनुभयो ।
- See more at: http://www.nepaljapan.com/2014/09/12/130606/#sthash.b32ZTSFw.dpuf
0 comments
Write Down Your Responses